मनहरी–फागुन २३ गते । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ मनहरी गाउँपालिका कमिटीको फागुन २४ गते शनिबार हुने दोस्रो अधिबेसनको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजकका तर्फबाट शुक्रबार बिहान नेकपा एमाले पार्टी सम्पर्क कार्यालय मनहरी ७ रोटरी मार्केटमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा जानकारी दिँदै राष्ट्रिय युवा संघ मनहरी गाउँकमिटी अध्यक्ष प्रकाश स्याङ्तानले केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख उपस्थितिमा अधिबेसनको उद्घाटन सत्र र बन्द सत्र सम्पन्न हुने जानकारी दिनुभयो ।
वर्तमान सरकारको नेतृत्व सम्हालिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सिंगो एमाले पार्टीप्रति सामाजिक सञ्जालहरुमा भइरहेको अनावश्यक टिकाटिप्पणी र साइबर हमलाका सम्बन्धमा समेत युवालाई सचेत पार्नेगरी केन्द्रीय नेतृत्वबाट प्रशिक्षणात्मक मन्तब्य ब्यक्त हुने अध्यक्ष स्याङ्तानले बताउनुभयो ।
केन्द्रीय अध्यक्ष थेवेका अतिरिक्त राष्ट्रिय युवा संघ मकवानपुर इन्चार्ज प्रतिमा श्रेष्ठ, बागमती प्रदेश युवा परिषद कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, जिल्ला अध्यक्ष राजेश नगरकोटीसहित पार्टीका जिल्ला तथा प्रदेश कमिटीका नेताहरुको सहभागिता रहने युवा संघ मनहरी गाउँपालिका कमिटीले जनाएको छ ।
अधिबेसनले नयाँ कार्यसमिति चयन गर्दैगर्दा पुनः प्रकाश स्याङ्तानकै अध्यक्षतामा नयाँ कमिटी बन्ने अनुमान गरिएको छ ।
यद्यपि प्रतिनिधिहरुले प्रक्रिया बमोजिम अध्यक्ष तथा पदाधिकारीहरु चुन्ने भएकाले यसै भन्ने अबस्था नरहेको राष्ट्रिय युवा संघ मकवानपुरका सचिवालय सदस्य तथा मनहरी इन्चार्ज विश्व रानाले बताउनुभयो ।
‘अहिलेसम्म अध्यक्ष बन्ने भन्नेबारे कसैले भनेका छैनन्, अधिबेसनकै बेला उम्मेदवारी दाबी होला नि’, इन्चार्ज रानाले बताउनुभयो ।
कार्यक्रमलाई भब्य बनाउनका लागि पार्टीसँग आपसी समन्वय भइरहेको र ३ सय जना युवाको कार्यक्रममा सहभागिता रहने बताइएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एमाले मनहरी गाउँ कमिटी अध्यक्ष नवीन सुवेदी, जिल्ला सदस्य बीरेन्द्र डिसीसहित युवा संघ जिल्ला कमिटीका सदस्यहरु, मनहरी गाउँ कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।

