Tuesday, January 14, 2025

राक्सिराङमा भयाबह बन्दै जंक फुड र कोल्ड ड्रिक्स

ताजा / भरखरै प्राप्त

राक्सिराङ–मंसीर २१ गते । राक्सिराङ गाउँपालिकामा डिउ, कोकजस्ता चिसो पेय पदार्थका अधिक प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पारेको स्थानीयबासिन्दाहरुले बताएका छन् ।

राक्सिराङ ५ चैनपुरस्थित गाउँपालिकाको सभा हलमा टुकी फाउन्डेसनले आयोजना गरेको सुक्ष्म अनुसन्धानको समिक्षा कार्यक्रममा उनीहरुले डिउ र कोकको प्रयोग निकै घातक भएको बताएका हुन् ।

‘खाँदा एकदम मिठो हुने तर प्रेसर र सुगर बढेर खप्नै नसक्ने गरी बढाउँदो रहेछ’, राक्सिराङ ५ निवासी कान्छीमायाँ प्रजा (चेपाङ) ले भन्नुभयो ।

कार्यक्रममा सहभागी सुना प्रजा (चेपाङ) ले पनि गाउँभरि डिउ, कोकको अधिक प्रयोगका कारण टाइफाइड, जन्डिस, रुघाखोकीका बिरामीलाई थप संक्रमणमा बढाएर जटिल बनाइरहेको बताउनुभयो ।

‘सामान्य संक्रमणमाथि जंक फुड र कोल्ड ड्रिंक्सहरु पिउँदा समयमै उपचार, जाँच र रोकथाम नहुँदा किड्नी फेल समेत भइरहेको घटनाहरु गाउँघरमा देखेका छौँ’, सुनाले भन्नुभयो ।

हरेक पसलहरुमा निस्फिक्री रुपमा डिउ, कोक, फ्यान्टा, स्प्राइटसहित प्याकेजिङ गरिएका खाद्यबस्तुहरु पाइने उल्लेख गर्दै अहिले विवाह, गासा, मलामी तथा किरियाहरुमा समेत चियो पेय पदार्थहरुको प्रयोग देखिएको टुकी फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनले केही महिलाहरुलाई केन्द्रित गरेर गरेको सर्वेक्षणका क्रममा गाउँघरमा डिउ, कोक खान नपाए मेलापर्ममा समेत खेतालाहरु नआउने अबस्था आएको बताइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले अब नगर प्रहरी परिचालन गरी जंक फुड निषेध अभियानलाई अघि बढाउने बनाउनुभयो ।

उहाँले यसअघि नै गाउँपालिकाको कार्यपालिका बैठकले कोल्ड ड्रिंक्सको प्रयोग तथा खादाको प्रयोग निषेधबारे निर्णय गरिसकेको स्मरण गराउँदै यसको कार्यान्वयन प्रभावकारी बनाउने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले अब कोक र डिउ नियन्त्रणका लागि हरेक चर्चका पास्टरहरु, गुम्बाका लामाहरु र मन्दिरका पुजारीहरुलाई नै अभिमुखीकरण गर्नुपर्ने सुनाउनुभयो । रक्सी खाने लत छुटाउने बहानामा कोल्ड ड्रिंक्स खुवाउने क्रम व्यापक बढेको उहाँको भनाई छ ।

कार्यक्रममा ५ वडाका वडाध्यक्ष हरिबहादुर प्रजाले पनि धारणा राख्नु भएको थियो । कार्यक्रममा टुकी फाउण्डेसनका तर्फबाट सर्वेक्षणकर्ता प्रमिता ढुंगानाले सर्वेक्षणको प्रक्रिया र घटनाक्रमहरुबारे प्रस्तुति दिनु भएको थियो भने कार्यकारी निर्देशक शिला सिंह ठकुरीले सञ्चालन गर्नु भएको थियो ।

कल्पना प्रजाले स्वागत गर्नु भएको कार्यक्रमको अध्यक्षता टुकी फाउण्डेसनका सचिव बिना खालिङ राईले गर्नु भएको थियो ।

परम्परागत मौलिक खानेकुराहरुको प्रवद्र्धन गर्न सके बजारबाट आयातित जंकफुड र कोल्ड ड्रिंक्सहरु निमिट्यान्न पार्न सकिने कार्यक्रममा सहभागीहरुले धारणा राखेका थिए ।

लोकप्रिय

Related Articles