Sunday, October 13, 2024

दुईजना चेपाङ विद्यार्थीलाई डाक्टर पढ्न सहयोग गर्ने घोषणा

ताजा / भरखरै प्राप्त

राक्सिराङ–भदौ २१ गते । राक्सिराङ गाउँपालिका ५ जुर्लिङस्थित लोकप्रिय प्राथमिक विद्यालयमा अध्ययनरत ७५ जना विद्यार्थीलाई पोशाकसहित सरसफाईका सामग्री हस्तान्तरण गरिएको छ ।

संविधान सभा सदस्य राजाराम स्याङ्तानको उपस्थितिमा विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गरिएको हो ।
जर्जिया मा बस्दै आइरहनु भएका सहयोगी कर्ण गुरुङको परिवारका तर्फबाट प्राप्ता सामग्रीहरु एक समारोहका बीच बितरण गरिएको युवा नेता सगुन स्याङ्तानले जानकारी दिनुभयो ।

जर्जिया बसोबास गर्दै आएका दम्पती कर्ण गुरुङ, पेमा गुरुङ र उनीहरुको छोराहरु सलिन र समिन गुरुङको तर्फबाट प्राप्त भएको पोशाक तथा सरसफाईका सामग्री विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको हो ।

यो कार्यका लागि समाजसेवी रेखा तामाङ लोप्चनले अगुवाई गर्नु भएको हो । यसअघि पनि तामाङको सहजीकरणमा यस क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आउनु भएको छ ।

जुर्लिङमा रहेको विद्यालयका बालबालिकाहरुको नाजुक अबस्था देखेपछि गुरुङ परिवारको तर्फबाट सहयोग प्राप्त भएको हो ।

चेपाङ बालबालिकाको निम्ति टिफिन बक्स, पानी खाने बोत्तल, स्याम्पु साबुन, ब्रस, मन्जन लगायत विभिन्न सामाग्रीहरु दिइएको तामाङले जानकारी दिनुभयो ।


गुरुङ परिवारले चेपाङ समुदायको दुई जना बालबालिकालाई डाक्टर पढाउन सहयोग गर्नेसमेत घोषणा गरेको छ । स्कुले शिक्षा पुरा भएपछि दुई जनालाई एमबिविएस डाक्टर सम्मको अध्यापनमा सहयोग गर्ने प्रतिबद्धता गुरुङले ब्यक्त गरेको तामाङले जानकारी दिनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा संविधानसभा सदस्य राजाराम स्याङतान, स्थानीय अगुवा कृष्ण बहादुर चेपाङ, युवा नेताहरु सगुन स्याङतान, रामशरण प्रजा लगायतको उपस्थिति रहेको थियो ।

संविधानसभा सदस्य स्याङतानले विकटका विपन्न चेपाङ बालबालिकाको उज्वल भविष्यको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै सहयोग गर्ने दाताको खुलेर प्रशंसा गर्नुभयो ।

जुर्लिङमा अध्ययन गर्ने अधिकांश बाल बालिका चेपाङ समुदायका रहेका छन् । चरम आर्थिक समस्या भोगिरहेको चेपाङ समुदाय गाँस, बास र कपासको लडाइँमा बर्षाैदेखि सरिक छन् ।

लोकप्रिय

Related Articles