मनहरी–भदौ १९ गते । नेपाली काँग्रेस मनहरी इकाई समितिले महिलाहरुलाई लक्षित गरी दरसहितको सांस्कृतिक कार्यक्रम गरेको छ ।
मनहरी गाउँपालिका ७ स्थित मनकामना मन्दिर परिसरमा आयोजित कार्यक्रममा नृत्य, गायन तथा खैँजडी भजनको प्रस्तुति समेत भएको थियो ।
सभापति प्रकाश बर्ताैलाको अध्यक्षतामा भएको कार्यक्रममा साबिक मनहरी गाविसकी अग्रज नेतृ तथा नेपाल महिला संघ तत्कालीन मनहरी गाविस सभापति कृष्णमाया कालाखेती प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सभापति तथा सांसद इन्द्रबहादुर बानिया सहभागी हुनु भएपनि उहाँकै सुझाव बमोजिम महिलाको कार्यक्रममा अग्रज महिलालाई सम्मान गरेर प्रमुख अतिथि बनाइएको सभापति बर्ताैलाले बताउनुभयो ।
कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै बानियाँले समाजको सर्वाङ्गीण विकासका लागि हरेक क्रियाकलापमा महिलाको सहभागिताले प्रभावकारिता हासिल हुने बताउनुभयो ।
काँग्रेसकै नेतृत्वमा राणा शासन, पञ्चायत र राजतन्त्रको अन्त्य गरिएको स्मरण गर्दै बानियाँले नयाँ संविधानमार्फत महिलाको अधिकारलाई थप बलियो र प्रभावकारी बनाइएको बताउनुभयो ।
कार्यक्रममा नेपाल महिला संघ मनहरीका संस्थापक सभापति कालाखेतीसहित अगुवा महिलाहरु कृष्णकुमारी मैनाली, सान्नानी मैनाली, कान्छीमाया थिङ, गोमा गिरी, माइलीमाया लामा, कान्छीमाया घलान, बलकुमारी उप्रेती, राधादेवी पाठक, नारायणी थापा, शेषकुमारी अधिकारी, विष्णुमाया ब्लोन, मैयाँ सुनार, माइली दर्जी, फूलमति न्यौपाने, ठूलीमाया मुक्तान, सूर्यकुमारी लामालगायत २५ जना अग्रज महिलालाई सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति सभापति बुद्ध लामा, बागमती प्रदेशको भौतिक पूर्वाधार विकास पूर्वराज्य मन्त्री सन्तबहादुर चेपाङ, पार्टीको प्रदेश समिति सदस्य जानकी लामा, जिल्ला सहसचिव ईन्दिरा न्यौपाने, क्षेत्र नम्बर २ क का सभापति रञ्जन कालाखेती, जिल्ला सदस्य अञ्जना उपाध्याय, कांग्रेस बागमती प्रदेश महिला विभाग सदस्य कमला मैनाली, मनहरी–७ की वडासदस्य राधादेवी पाठकलगायतले महिला अधिकार र तीज पर्वका सम्बन्धका बारेमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।