Monday, March 17, 2025

५० हजार नगद पुरस्कारसहित सुनाचुरी सामुदायिक वन उत्कृष्ट घोषित

ताजा / भरखरै प्राप्त

मनहरी–असार ३० गते । डिभिजनल वन कार्यालय राप्ती मनहरीभरिका सामुदायिक वनहरुमध्ये मनहरी गाउँपालिका ६ सुनाचुरीमा रहेको सुनाचुरी सामुदायिक वन उपभोक्ता समूह सर्वाेत्कृष्ट भएको छ ।

कार्यालयले आर्थिक बर्ष २०८०/०८१ का लागि उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै समूहलाई नगदसहित सम्मानपत्र हस्तान्तरण गरेको हो ।

डिभिजनल वन कार्यालय राप्ती मनहरीमा आइतबार आयोजित पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजनल वन कार्यालय राप्तीका प्रमुख लोकराज नेपालले सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहबाट अन्य समूहहरुले पनि सिक्नुपर्ने बताउनुभयो ।

उहाँले अन्य केही सामुदायिकहरुको व्यवस्थापन राम्रो रहे पनि कतिपय सामुदायिक वन उपभोक्ता समूहहरुको बार्षिक साधारण सभा, लेखा प्रतिवेदन तथा विधान र कार्ययोजनाहरु समेत नवीकरण नभएको पाइएको बताउनुभयो ।

ेडिभिजनल वन कार्यालय राप्ती मनहरी अन्तर्गत ४०२ वटा सामुदायिक वनहरु रहेका छन् । तीमध्ये उत्कृष्ट सामुदायिक वन पुरस्कारका लागि चित्लाङ र मनहरी सव डिभिजन वन कार्यालयले मात्रै सिफारिस गरेका थिए । नियमित बार्षिक साधारण सभा, लेखा परिक्षण, वन संरक्षण, वन विकास कोषको परिचालन, उपभोक्ताहरुको सहभागिता लगायतका बिषयहरुमा सामुदायिक वनको मूल्यांकन गरिएको हो ।

प्रमाणपत्र तथा पुरस्कार हस्तान्तरण कार्यक्रममा वन समूहकी अध्यक्ष पार्वती तामाङ, सचिव रमेश कार्कीसहित वन अधिकृतहरु सुरेशप्रसाद गुप्ता, गगन शर्मा, सव डिभिजन वन कार्यालय मनहरीका दामोदर पाण्डे, रुपकुमार ब्लोन, सुजन मुक्तानसहितका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

लोकप्रिय

Related Articles