मनहरी–माघ १७ गते । पाँचौ मनहरी महोत्सवको दोस्रो दिन सेलो तथा आधुनिक गायिक जितु लोप्चनसँग दर्शकहरु झुमेका छन् ।
तामाङ समुदायको बसोबास अधिक रहेको पश्चिम मकवानपुरको मनहरी बजारस्थित खोला किनारमा आयोजना भएको महोत्सवमा तामाङ सेलो गाउन आइपुग्नु भएकी लोप्चनले ‘काले काले नक्कले केटाको हेराइ बेइमानी’, ‘कति बस्छौ टिकटकको लाइभमा’, लगायतका थुप्रै गीतहरु गाउनु भएको थियो ।
उहाँले बीच बीचमा तामाङ भाषाको सम्बादसँगै गीत गाइरहँदा मनहरीबासी दर्शकहरु झुम्मिएका थिए । साँझपखको चिसो मौसमलाई गायिका लोप्चनले गर्मागर्मी बनाइरहँदा दर्शक, स्रोताहरुले नाच्दै हुटिङ गरेर साथ दिएका थिए । लोप्चनको प्रस्तुतिअघि नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङको प्रस्तुति रहेको थियो ।
उहाँले दर्शकहरुलाई उत्साहित बनाउँदै आफूले गाएको र दिल्लीमा आयोजित कार्यक्रममा एवार्ड पाएको ‘रक्सी लोहाङ, बेरती’ लगायतका गीतहरु तथा सर्लाहीको भरतताल सम्बन्धमा बनाइएको नयाँ गीत प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा कलाकारहरु गणेश चेपाङ, देवराज चेपाङ, सन्देश चेपाङ तथा सूर्य मुक्तानले मन्चमा दर्शकहरुलाई भरपूर मनोरन्जन दिएका थिए । गायनसँगै आस्था कला केन्द्रका कलाकारहरुले विभिन्न नयाँ पुराना लोक आधुनिक गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।
महोत्सवको दोस्रो दिन उत्साहपूर्ण ढंगले सांस्कृतिक कार्यक्रमसहित अवलोकनकर्ताहरु बढ्ने क्रममा रहेको आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले जनाएको छ । महोत्सवमा माघ १६ गते व्यवस्थापन गर्न नसकिएका कतिपय स्टलहरु व्यवस्थापन हुँदै गएका छन् ।