मनहरी–पुस ८ गते । लोपोन्मुख बनकरिया जातिका लागि जाडो महिनामा न्यानो सिरकको व्यवस्था मिलाइएको छ । मनहरी गाउँपालिका वडा नं ४ स्थित मुसेधापमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठसहितको टोली बनकरियाका लागि सिरक बितरण गर्न पुग्नु भएको हो ।
२२ घरमा बसोबास गर्ने ९३ जना बनकरिया समुदायका मानिसलाई सबैलाई पुग्ने गरी गुणस्तरीय फाइबरबाट निर्मित सिरक बितरण गरिएको मन्त्रालयले जनाएको छ । बिपत व्यवस्थापन कोषबाट सिरक व्यवस्थापन गरी बागमती प्रदेश भित्र बसोबास गर्ने अति सीमान्तकृत समुदायहरु बनकरिया, हायु लगायतलाई सिरकको व्यवस्थापन गरिएको हो ।
सिरक बितरण गर्दै मन्त्री श्रेष्ठले जाडोको समयमा कमजोर आर्थिक अबस्था भएका सीमान्तकृत समुदायका लागि सिरक व्यवस्थापन गरेको बताउनुभयो । ‘हामीलाई थाहा छ, सिरक दिएर मात्रै समस्या समाधान हुँदैन’, मन्त्री श्रेष्ठले भन्नुभयो–‘बस्तीका अनेकन् समस्याहरु समाधानका लागि सरकार प्रयत्नशील छ ।’
उहाँले बस्तीका मानिसहरुका लागि सीप विकास गर्ने, भौतिक पूर्वाधारहरु विकास गर्ने लगायतका बिषयहरु सरकारको प्राथमिकतामा परेको बताउनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव ध्रुव गैँडाले सरकारको तर्फबाट जाडोयाममा सिरकको व्यवस्थापन गरी राज्यको अनुभूति दिलाउन आफूहरु बस्तीसम्मै पुगेको बताउनुभयो ।
बनकरिया समुदायकी अगुवा सन्तमाया बनकरियाको अध्यक्षतामा भएको बितरण समारोहको सञ्चालन गर्दै ४ नं वडाध्यक्ष प्रकाश थापाले बस्तीका समस्या बुझेर मन्त्री स्वयम् उपस्थित भई सिरक बितरण गरिदिनु भएकामा धन्यवाद ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बनकरिया बस्तीको संक्षिप्त परिचय र उनीहरुको आवश्यकताका बारेमा स्वागत मन्त्तब्य राख्दै सञ्चारकर्मी शिवकुमार काशीले प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा मन्त्रालयका कर्मचारीहरु, वडा सदस्य दिनेश चेपाङ, सञ्चारकर्मी गणेशदर्पण अधिकारी लगायतको सहभागिता थियो ।