Tuesday, May 21, 2024

मनहरी ८ देवकोटः भुतबाङ खोल्सीको पानी ट्याङ्कीमा पुग्न ५ बर्ष लाग्यो, पानी आएपछि स्थानीयबासी हर्षित

ताजा / भरखरै प्राप्त

मनहरी–पुस ७ गते । आर्थिक बर्ष २०७५/७६ बाटै सुरु भएको मनहरी गाउँपालिका ८ देवकोटस्थित भूतबाङ खानेपानी योजना ५ बर्षपछि सफलतातिर लम्केको छ ।

झण्डै १ किलोमिटर गहिराईमा रहेको भूतबाङ खोल्सीबाट देवकोटको उचाईमा रहेको ८० हजार लिटर क्षमताको ट्याङ्कीमा ३ इन्चको पाइपभरि पानी आउँदा स्थानीबासिन्दा हर्षित भए ।
८ नं वडा सदस्य पन्चलाल थिङ, भूतबाङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष इमान थिङसहितका युवाहरुको निरन्तर लगावले खानेपानी योजना सफलता उन्मुख भएको हो । ट्याङ्कीमा खसालिएको पानी अब शाखा पाइपलाइन बिस्तार गरी घरघरै बितरण गर्न भने बाँकी छ ।

वडा सदस्य पन्चलालका अनुसार ५ बर्षअघिबाट यो योजनामा काम सुरु भएको थियो । तर, सोचेजस्तो प्रगति हुन नसक्दा योजना बेवारिसे बन्दै गइरहेको थियो । दुई आर्थिक बर्ष गरेर ६० लाख रुपियाँ लगानी हुँदा पनि योजना सफल हुन नसकेपछि वडाध्यक्ष नारायण उप्रेतीको अगुवाईमा संघीय सरकार अन्तर्गतको डिभिजन खानेपानी कार्यालयबाट गुणस्तरीय मोटर तथा पाइप लगायत सामग्रीहरु ल्याइएपछि योजना सफलतातिर अघि बढेको हो ।

‘दुई दुईपटक उपभोक्ता समितिहरु बनेर कामहरु गरिएपनि योजना बेवारिस जस्तै भएको थियो’ वडासदस्य पन्चलाल थिङले भन्नुभयो–‘अहिले हामीले रातदिन नभनी निरन्तर प्राविधिक सल्लाह र सहयोग मागेर खटिएपछि भूतबाङ खोल्सीबाट ट्याङ्कीमा पानी खसाल्न सफल भएका छौँ ।’

तीन इन्चको पाइपभरिको पानी देवकोटको उच्च भागमा रहेको ट्याङ्कीमा खसालिएपछि देवकोटबासी हर्षित भएर ट्याङ्की क्षेत्रमा भेला भएका थिए । उनीहरुले वडाध्यक्ष नारायण उप्रेतीसहित जनप्रतिनिधिहरुलाई धन्यवाद दिँदै अब चाँडै घरघरै पानी पु¥याउने वातावरण बनाइदिन आग्रह गरेका थिए । जबाफमा वडाध्यक्ष उप्रेतीले बिगतमा जे जसरी काम भएको भएपनि अबका कामहरु प्रभावकारी र पारदर्शी ढंगले हुनुपर्ने बताउनुभयो ।

उहाँले घरघरै पानी पु¥याउने जिम्मेवारी आफ्नो रहेको र पु¥याएरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्दै घरघरै मिटर जडान गरेर पानी बितरण गरिने र नियमित महसुल समेत संकलन हुनेगरी व्यवस्थापन गरिने बताउनुभयो । ‘पुरानो खानेपानीको मुहानलाई नियमित गरेर भूतबाङबाट आउने पानीका लागि निर्मित नयाँ ट्याङ्कीमा खसाल्ने र खानेपानी तथा सिंचाई दुबै प्रयोजनका लागि योजनालाई उपयोग गर्ने सोचेका छौँ’, वडाध्यक्ष उप्रेतीले भन्नुभयो ।

पानी आएपछि देवकोटबासीहरु निकै लामो समयपछि भेलामा हर्षका साथ सहभागी भएको भूतबाङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष इमान थिङले बताउनुभयो । ‘आफ्नै काम गर्नका लागि समेत हाम्रा गाउँलेहरु सहभागी नहुने गरेका थिए’, उहाँले भन्नुभयो–‘आज धेरै दिनपछि देवकोटबासी जुर्मुराएको पायौँ ।’

हालका लागि १ लाख रुपियाँको पाइप खरिद गरिसकिएको र तुरुन्तै अपुग पाइप गाउँपालिकासँग माग गरेर पाइपलाइन बिस्तार कार्य अघि बढ्ने वडा सदस्य पन्चलालले बताउनुभयो । खानेपानी मुहानबाट ट्याङकीसम्म पुगेको खुसीयालीमा स्थानीय समाजसेवीहरु, आमा समूह, जनप्रतिनिधिहरु, सञ्चारकर्मी र भद्रभलाद्मीहरु भेलामा सहभागी पुगेका थिए ।

तस्वीरमा हेर्नुहोस् भूतबाङ खानेपानी झलक ।

तीन इन्चको पाइपमा देवकोटमा भूतबाङ खोल्सीबाट खसेको पानी ।

तीन इन्चको पाइपमा देवकोटमा भूतबाङ खोल्सीबाट खसेको पानी ।

तीन इन्चको पाइपमा देवकोटमा भूतबाङ खोल्सीबाट खसेको पानी हेरेर खुसी हुँदै ८ नं वडाध्यक्ष नारायण उप्रेतीसहित टोली ।

उपभोक्ताहरुसामु भनाई राख्दै ८ नं वडाध्यक्ष नारायण उप्रेतीसहित टोली ।

उपभोक्ताहरुसामु भनाई भूतबाङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष इमान थिङ ।

खानेपानी आएपछि हर्षित गाउँलेहरु ।

भेलाका अतिथिहरु ।

लोकप्रिय

Related Articles