मनहरी–पुस ५ गते । मकवानपुरको पश्चिम क्षेत्रका गाउँहरुमा इसाई धर्मको बिस्तार हुँदाताका भएको सरकारी दमन र बहिस्करणबारे क्रिश्चियन अगुवाहरुले सम्झना गरेका छन् ।
मनहरी गाउँपालिका ७ मनहरी बजारमा क्यापिटोल मिटिस्ट्री नेपालले क्रिसमस र अँग्रेजी नयाँ बर्षको अबसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै क्रिश्चियन अगुवाहरुले धार्मिक स्वतन्त्रता नहुँदाका काला दिनहरुको सम्झना गरेका हुन् ।
सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका संस्थापक एबम् इसाइ धर्म प्रचारक ऋषिराम आचार्यले २०२१ सालबाट पश्चिम मकवानपुरमा क्रिश्चियन धर्मको सुरुवात भएको सम्झना गर्नुभयो । उहाँले न्युजिल्याण्डबाट २०२४ सालमा डाक्टर राशखोली नामका व्यक्ति आएर राक्सिराङको माइसिराङमा बसेर चेपाङ जातिको बारेमा अनुसन्धान गरेको कुरा सम्झना गर्नुभयो । ‘डाक्टर राशखोलीले स्वर्गीय भविकन चेपाङको घरमा जे पाक्यो त्यही खानुभयो’, आचार्यले स्मरण गर्नुभयो–‘चेपाङ भाषा सिक्दै अघि बढ्नुभयो र धेरैलाई बिस्तारै बिस्तारै विश्वासी बनाउँदै लग्नुभयो ।’
उहाँले त्यतिबेला इसाइ धर्मको बिस्तार भइरहँदा उहाँले तत्कालीन अभियन्ताहरु बिष्णुराम चेपाङ, रिसिङ लामा, कृष्णबहादुर चेपाङलाई समेत सम्झन भ्याउनुभयो । तर हिन्दू धर्मप्रति नतमस्तक भएर दमन गर्ने त्यतिखेरको क्रुर राज्य व्यवस्थालाई समेत नटेरेर विश्वासीहरु अडिग भएर लागिरहेकाले अहिलेको सजिलो अबस्था आइरहेको उहाँले बताउनुभयो ।
‘प्रहरीले पक्रन्थ्यो, चौकीभित्र रहेको मुर्तिमा ढोग्न लगाइन्थ्यो र टाउकोमा सिन्दुर हाल्न भनिन्थ्यो’, आचार्यले सम्झना गर्नुभयो–‘हाम्रा साथीहरु बरु जेल जान्छौँ, त्यसो गर्दिन भन्नुहुन्थ्यो, उनीहरुले जबरजस्ती मुर्तिमा टाउको ठोकाएर सिन्दुर छरेर छाडिदिन्थे ।’
त्यस्तो कठिन अबस्थाबाट अघि बढेको विश्वासीहरुको समुदाय अहिले ठूलो भएको र मण्डलीहरु बढेकोमा आचार्यले खुसी ब्यक्त गर्नुभयो । तर, अहिले बनेका मण्डलीहरु आगामी पुस्ताले मण्डलीकै रुपमा पाउँछन् वा व्यक्तिगत सम्पत्ति बन्छन् भन्नेबारे आशंका बढेको भन्दै उहाँले कानूनी रुपमा मण्डलीहरु जुगौजुग रहनेगरी राज्यले व्यवस्था गरिदिनुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बरिष्ठ विश्वासी आचार्यले यस्तो सम्झना गरिरहँदा मन्त्री लामा कार्यक्रमबाट बिदा भइसक्नु भएको थियो । बिदा हुनुअघिको मन्तब्य ब्यक्त गर्दै मन्त्री लामाले कुनै पनि धर्मप्रति अगाध विश्वास र माया गर्नु भनेकै आफैमाथि विश्वास गर्नु हो भन्नुभयो ।
उहाँले सबै धर्म, जाति, समुदाय समान रहेकाले धर्म निरपेक्ष मुलुकमा कुनै पनि धर्मको आधारमा भेदभाव गरिन नहुने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार विकास पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङले अब अन्य जातीय आयोग झैँ धार्मिक आयोग गठन हुनुपर्नेमा जोड दिनुभयो । क्यापिटोल मिनिस्ट्री नेपालले आगामी दिनमा राजनीतिक व्यक्तित्वसँग भलाकुसारी गरेर अघि बढ्ने प्रण गरेकोमा उहाँले धन्यवाद दिनुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य गोविन्दराम चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य बीरबहादुर घलान ज्वाला, नेकपा एमाले मकवानपुरका उपाध्यक्ष लालबहादुर थापा, नेपाली काँग्रेस मनहरीका सभापति प्रकाश बर्ताैला, नेपाल चेपाङ संघ बागमती प्रदेश अध्यक्ष खुसीलाल चेपाङ, फादर सुनिल मोक्तान, बरिष्ठ पास्टर कृष्णबहादुर चेपाङ, मकवानुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गणेशमान मानन्धर लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
क्यापिटोल मिनिस्ट्री नेपालका निर्देशक कुमार सिंह प्रजाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न धार्मिक समुदायकाबाट समेत सहभागिता थियो । कार्यक्रमको सञ्चालन क्रिश्चियन अगुवा रविन्द्रकुमार चेपाङले गर्नु भएको हो ।