मनहरी–पुस २ गते । मनहरी गाउँपालिका वडा नं ७ स्थित रोटरी मार्केटमा अन्तर्राष्ट्रिय आप्रबासी श्रमिक दिवसको अबसर पारेर सोमबार साँझ दीप प्रज्वलन गरिएको छ ।
सुरक्षित आप्रबासन कार्यक्रम (सामी) परियोजना अन्तर्गत मनहरी गाउँपालिकाको अगुवाईमा दीप प्रज्वलन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर (रेखा) ले सकेसम्म विदेश नजाने वातावरण तयार गर्नुपर्ने र जानैपरेमा सुरक्षित भएर मात्रै जानका लागि युवाहरुलाई आग्रह गर्नुभयो ।
उहाँले बैदेशिक रोजगारीमा जाँदा असुरक्षित भएर कैयौ मानिसहरु घरबारबिहिन भएको घटनाहरु देखिएकाले त्यसबाट सजग भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मनहरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, ४ नं वडाध्यक्ष प्रकाश थापा, लेखा अधिकृत राजेन्द्र भट्टराई, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य बीरबहादुर घलान ज्वालासहित विभिन्न राजनीतिक दलसम्बद्ध मानिसहरु, समाजसेवी, कर्मचारी, शिक्षक, खेलाडी लगायतको सहभागिता रहेको थियो ।