राक्सिराङ–असोज १४ गते । ३३ औँ विश्व जेष्ठ नागरिक दिवसको अवसरमा राक्सिराङ गाउँपालिकाले चेपाङ बा–आमासंग संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
साथै गाउँपालिका अन्र्गतका जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरेको छ । गाउँपालिकाले विश्व जेष्ठ नागरिक दिवसको अवसरमा चेपाङ बा–आमासंग संवाद तथा सम्मान कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा सहभागी ५० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण तथा लत्ता कपडा समेत वितरण गरिएको छ । साथै कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुसंग उहाँहरुको समस्यका विषयमा समेत संवाद गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।
गाउँपालिकाको आयोजना तथा नाफानको सहयोगमा भएको कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुलाई खाना समेत खुवाइएको थियो ।
कार्यक्रममा १०७ वर्षिय बहाबली चेपाङले घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न माग समेत राख्नुभएको थियो । सोही विषयलाई मध्यनजर गर्दै वडा वडामा नै गएर सामाजिक सुरक्षा भत्ता प्रदान गरिने गाउँपालिका अध्यक्ष मल्लले प्रतिवद्धता समेत जनाउनुभयो ।
वडा नम्बर ५ का वडा अध्यक्ष हरी प्रजाको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मल्लको प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिमा प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौला, सामुदायिक वनका प्रतिनिधिहरु लगायतका आतिथ्यता र जेष्ठ नागरिहरुको सहभागिता रहेको थियो ।