Friday, September 13, 2024

मनहरीमा सुनियो मृगले बाली खाएको गुनासो

ताजा / भरखरै प्राप्त

मनहरी–असोज ११ गते । मनहरी गाउँपालिका–३ ढेडुवाखोलाका किसानहरुले लगाएको बाली जंगली जनावर मृगले हरेक बर्ष क्षति पु¥याउने गरेको भन्दै किसानहरुले सरोकारवालासमक्ष गुनासो गरेका छन् ।

स्थानीय तहले प्रबाह गर्ने सेवाका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो गुनासो गरेका हुन् ।
‘हामीले लगाएको बाली कहिल्यै पनि टिप्न पाउँदैनौँ, पटक पटक जनप्रतिनिधिहरु र नेताहरुको ध्यानाकर्षण गराएका छौँ’, कार्यक्रमममा सहभागी पवित्रा गौतमले भन्नुभयो–‘भोट मात्रै माग्न आउने हुन्, समस्यामा कहिल्यै सहयोग गर्ने होइनन् ।’

उहाँले मृग, बाँदर तथा अन्य जंगली जनावरका कारण खेतीबालीमा सँधै असर परिरहेको बताउनुभयो । मुख्य रुपमा मृगले दुःख दिएको भन्दै स्थानीय सरकारले मृग खेतबारीतर्फ आउने बाटोमा तारजालीको व्यवस्था गरिदिए हुन्थ्यो भन्दै उहाँले आशा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी मनहरी गाउँपालिका वडा नं १, ३ र ४ एबम् हेटौँडा १९ नं वडाका सहभागीहरुले महिलाका सन्दर्भमा भएका बजेट बिनियोजन, कार्यान्वयनको अबस्था लगायतका बारेमा प्रश्न गर्नु भएको थियो ।

त्यसैगरी कृषि अनुदानका बिषय, विद्यालय सुध्रिन नसकेको बिषय, छात्रबृत्ति बितरण पारदर्शी नभएका बिषय, ऐलानी जग्गाले लालपुर्जा पाउने बिषयहरुमा पनि सहभागीहरुले प्रश्न गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा जवाफ दिँदै ४ नं वडाध्यक्ष प्रकाश थापाले सबै समस्याहरुको निराकरणमा स्थानीय सरकारको ध्यानाकर्षण भएको बताउनुभयो । ‘यी समस्याहरुलाई मैले मभन्दा माथिल्लो निकायमा प्रस्तुत गर्नेछु र समस्या समाधानको प्रयास गर्नेछु’, उहाँले भन्नुभयो ।

डब्लुपीडी नेपाल र इन्सेकको साझेदारिता भएको कार्यक्रमको सभाध्यक्षता डब्लुपीडीकी फिल्ड सुपरभाइजर तिलकुमारी हुमागाईको रहेको थियो भने इन्सेकका कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले कार्यक्रमको औचित्यसहित स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा १ नं वडाध्यक्ष शिवप्रसाद खनाल, ३ नं वडाका कार्यबाहक वडाध्यक्ष हिराबहादुर प्रजा, कार्यपालिका सदस्यहरु मीरा खत्री, सेतीमाया तामाङ, सविता सुवेदीसहित स्वास्थ्य शाखा प्रमुख राचन्द्र दाहाल, शिक्षा शाखाका पूर्णभद्र भूसाल, कृषि शाखाका उज्वल खतिवडा, महिला तथा बालबालिका शाखाकी शिला अधिकारी, सामाजिक विकास शाखाका ज्ञानेन्द्र ढकाल, मेलमिलाप संयोजक ध्रुव खड्का लगायतको सहभागिता थियो । बिषयगत शाखाबारे उठेका प्रश्नहरुको शाखागत रुपमा जबाफ दिइएको थियो ।

लोकप्रिय

Related Articles