मनहरी–भदौ २८ गते । मनहरी गाउँपालिका ८ बेलुवामा खेलमैदान निर्माण गरिएको छ ।
गणेशधारा युवा क्लवको अगुवाईमा ‘गणेशधारा’ खेल मैदान निर्माण सम्पन्न भएको क्लवले जनाएको छ ।
मनहरी गाउँपालिका ८ नं वडा कार्यालयबाट बिनियोजित ३ लाख, रिद्धिसिद्धि सिमेन्ट उद्योगबाट प्राप्त १ लाख रुपियाँ तथा क्रसर व्यवसायी तथा अन्य व्यवसायी समाजसेवीहरुले ब्यक्तिगत सहयोग गरी खेलमैदान निर्माण सम्पन्न गरिएको गणेशधारा युवा क्लवका स्वतन्त्र उप्रेतीले जानकारी दिनुभयो ।
मैदानका लागि चतुर्मुखी क्रसर उद्योगले १५ ट्रिप पाँगो, कामना क्रसरले १५ ट्रिप पाँगो, मनहरी बालुवा उद्योगले १५ ट्रिप पाँगो, जनसेवा क्रसर उद्योगबाट १५ ट्रिप पाँगो प्राप्त भएको थियो । त्यसैगरी निमेष उप्रेती र स्वतन्त्र उप्रेतीको तर्फबाट समेत १०–१० ट्रि पाँगो र नगद सहयोग प्राप्त भएको थियो ।
मनहरीका अन्य व्यवसायीहरुले पनि ५ सय रुपियाँदेखि ५ हजार रुपियाँसम्म सहयोग प्राप्त भई मैदान निर्माण सम्पन्न गरिएको छ । मैदान परिसरमा स्वतन्त्र उप्रेतीको सहयोगमा ट्युबेल समेत निर्माण गरिएको छ ।
खेल मैदान निर्माण भएपछि विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्न र मर्निङ वाकका लागि पनि सजिलो हुने खेलाडीहरुले बताएका छन् ।
अहिले मैदान बनेको स्थलमा यसअघि मनहरी महोत्सव सञ्चालन गरिएको थियो ।