मनहरी–असार १५ गते । शुक्रबार २० औँ राष्ट्रिय धान दिवस मनाइएको छ । हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउने गरिन्छ ।
मानो रोपेर मुरी फलाउने महिनाकोरुपमा असार महिनालाई लिने गरिन्छ । राष्ट्रिय धान दिवसको अवसर पारेर विभिन्न संघ संस्थाहरुले धान रोप्ने कार्यक्रम नै आयोजना गरेका छन् ।
मनहरी ८ स्थित साना किसान सहकारी संस्थाले धान रोपेर धान दिवस मनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय हेटौडाको सहयोग तथा सहकारीको आयोजनामा मनहरी ९ मा रोपाई कार्यक्रम गरेको हो ।
मनहरी गाउँपालिकाका अध्यष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको रोपाई कार्यक्रममा विशेष अतिथि परियोजना कार्यान्वयन इकाईका प्रमुख अनिल तिवारी, ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेती, नेपाली काङ्ग्रेस मनहरी गाउँ कमिटीका सभापति प्रकाश बर्ताैला लगायत रोपाई २०० भन्दा किसानहरुको सहभागितामा २ विगाहमा रोपाई गरिएको संस्थाका प्रवन्धक ज्योति सुवेदीले बताउनुभयो ।
धान बालिमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थपानमा सहयोग भन्ने मूल नारा सहित राष्ट्रिय धान दिवस २०८० मनाएको हो ।
त्यस्तै मनहरी ७ स्थित युनिभर्सल लर्निङ एकेडेमीले पनि धान रोपाई गरी धान दिवस मनाएको छ । विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० विद्यार्थीहरुलाई खेतमै लगेर धान रोप्न लगाइएको थियो ।
कृषि पेशा नै जीवन जिउने मूख्य आधार भएको र त्यो कुरा विद्यार्थीलाई पनि प्रत्यक्ष अनुभुत गरी सिकाई गराउनको निम्ति रोपाई कार्यक्रममा सहभागी गराइएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुले लोपोन्मुख असारे भाका गाउँदै धान रोपेका थिए ।