राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।
बुधबार नारी सीप सिर्जना केन्द्र नेपालको आयोजनामा गाउँपालिकाका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधिसहित अन्य विभिन्न सरोकारवालाको उपस्थितिमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा गाउँपालिकामा हुन सक्ने मानव बेचबिखन तथा ओसारपसार रोकथाम तथा जनचेतना अभिबृद्धिका लागि गाउँपालिका स्तरिय एक समिति निर्माण गर्ने निर्णय भएको छ । जसका लागि गाउँपालिकाले आवश्यक कार्यविधि तयार गर्नेछ ।
गाउँपालिका प्रमुख वा उपप्रमुखको संयोजकत्वमा पालिकास्तरिय विभिन्न सरोकारवाला रहने गरि कार्यविधि बनाइने गाउँपालिकाका समाजिक बिकास शाखा प्रमुख गोविन्द अधिकारीले बताउनुभयो ।
कार्यविधि तयार गर्ने र समिति गठन गर्ने काम असार महिनाभित्र सकाइने उहाँको भनाई छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ गाउँपालिकाभित्र हुन सक्ने मानव बेचबिखन तथा ओसारपसारसम्बन्धि गतिविधि नियन्त्रणका लागि गाउँपालिका कठोर भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । आवश्यक कार्यविधि तथा कानुन निर्माण गर्ने र सोअनुसारको समिति निर्माण गरि निरन्तर काम गर्ने उहाँको भनाई छ ।
नारी सीप सिर्जना केन्द्र नेपालका कार्यकारी निर्देशक चिरञ्जिवी पौडेलले मानव बेचबिखन तथा ओसारपसारजस्तो जघन्य बिषयलाई जनप्रतिनिधि तथा सरोकारवालाले गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो ।
समाजिक मुद्धामा गाउँपालिकाको हरेक गतिविधिमा समन्वय र सहकार्य गर्न तयार रहेको बताउँदै उहाँले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि कार्यविधि तयार गर्न पनि सहयोग गरिने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गतौला, विभिन्न वडाअध्यक्षहरु, पत्रकार, समाजिक संघसंस्थाका प्रमुख तथा बाल क्लबका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रमलाई नारी सीप सिर्जना केन्द्रकी फिल्ड संयोजक गिता अर्यालले सहजीकरण गर्नुभएको थियो ।