मनहरी–पुस २४ गते । मनहरी गाउँपालिका शिक्षा शाखाले शिक्षकहरुका लागि सुचना प्रविधि सम्बन्धी क्षमता विकास प्रशिक्षक प्रशिक्षण तालिम आइतबार सुरु भएको छ ।
मनहरी गाउँपालिका वडा नम्बर ८ स्थित महेन्द्र किरण माध्यमिक विद्यालयमा आइतबारदेखी शुरु भएको तालिम ५ दिन चल्ने छ ।
तालिममा मनहरी गाउँपालिका अन्तर्गतका २० वटा विद्यालयका २० जना शिक्षकहरुको उपस्थिति रहेको छ । आइतबार देखी सुरु भएको तालिम २८ गते समापन हुने छ ।
कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सिता पुलामी मगर (रेखा) को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठको सभाध्यक्षता रहेको थियो भने शिक्षा शाखाका प्रमुख हरिचन्द्र सापकोटा, महेन्द्र किरण माविका प्रधानाध्यापक शिव बहादुर रिमाल लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुलामीले शिक्षकहरुले बदलिदो समय अनुसार प्रविधिमैत्री बन्न सहयोग मिलोस भनेर गाउँपालिकाले यस्तो तालिमको अवसर प्रदान गरेको बताउनुभयो ।
साथै सिकेका कुरालाई विद्यार्थीहरुमाझ बाड्न समेत आग्रह गर्नुभयो । सोही अवसरमा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुखको टोलीले विद्यालयमा चलिरहेको परीक्षाको अनुगमन समेत गरिएको थियो ।
तालिममा ओम प्रकाश सापकोटाले पहिलो दिनको सहजीकरण गर्नुभएको थियो ।