मनहरी–पुष १२ गते । राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र हुने विकास निर्माणका काममा सहयोग पुगोस भन्ने उद्येस्य सहित एक्साभेटर खरिद गरेको छ ।
चालु आर्थिक वर्ष २०७९÷०८० को विनियोजित बजेटबाट गत साउनमा गाउँपालिकाले ठेक्का आव्हान गरेको थियो ।
१ करोड १० लाखमा खोलिएको ठेक्कामा सोही रकममा जेसिबि कम्पनीको एक्साभेटर खरिद गरेको हो । गाउँपालिकामा वर्षेनी १ देखी डेढ करोडसम्म मर्मत सम्भारमा खर्च हुने भएकोले सो खर्चलाई न्युनीकरणका लागि एक्साभेटर खरिद गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।
भौगोलिक विकट इलाका भएकाले वर्षाका कारण र अन्य कारण बाटाहरुमा मर्मत सम्भार गरिरहनुपर्ने बाध्यता रहेको स्मरण गर्दै अध्यक्ष मल्लले भनेको बेलामा साधन नपाइने र रकम पनि धेरै तिर्नुपर्ने बाध्यतालाई हटाउन एक्साभेटर खरिद गरिएको बताउनुभयो ।
साथै खाली समयमा कुनै निर्माण कम्पनीले भाडामा लान चाहेमा समेत प्रदान गरिने बताउनुभयो । जसका लागि कार्यविधि निर्माण समेत गरिएको उहाँले बताउनुभयो ।
बर्षेनी १ देखी २ करोड हुने व्ययभार अव गाउँपालिकामा नरहने भन्दै एक्साभेटरको मुल्य बराबरको काम एक वर्षमै गरिने भन्दै अर्काे वर्षबाट बाटो निर्माण तथा मर्मतमा हुन व्यय भार कम हुने उहाँले बताउनुभयो ।
मंगलबार एक कार्यक्रमका विच एक्साभेटरको पुजा समेत गरिएको छ । गाउँपालिका अध्यक्ष मल्ल, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले पुजा गर्नुभएको हो ।