मनहरी–भदौ ३१ गते । मनहरी गाउँपालिकामा पहिलो चरणमा ७२७ घरमुलीले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गर्ने भएका छन् ।
भूमिहीन दलितलाई जग्गाको स्वामित्व प्रदान गर्नुपर्ने नेपालको संविधान २०७२ ले गरेको व्यवस्था बमोजिम जग्गाको स्वामित्व नरहेका दलित समुदायका १०१ घरधुरीले पहिलो चरणमा लालपुर्जा प्राप्त गर्नेगरी प्रक्रिया अघि बढेको मनहरी गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी तीनपुस्तासम्म नेपाल राज्यको कुनैपनि स्थानमा जग्गाको स्वामित्व नरहेका मनहरी गाउँपालिकाभित्रका ६२६ घरपरिवार भूमिहीन सुकुम्बासीका लागि पनि लालपुर्जा दिलाउने गरी प्रक्रिया अघि बढाइएको मनहरी गाउँपालिका भूमि व्यवस्था शाखा प्रमुख राजेन्द्रप्रसाद चौलागाईले बताउनुभयो ।
चौलागाईका अनुसार राष्ट्रिय भूमि आयोगको परिपत्र बमोजिम पालिका तहमा अध्यक्ष रन्जन कालाखेतीको संयोजकत्वमा गठित भूमिहीन तथा अब्यवस्थित बसोबासी सम्बन्धी सहजीकरण समितिको पुनर्गठनसँगै ९ वटै वडामा वडातहको सहजीकरण समिति गठन भइसकेको छ ।
वडामा वडाध्यक्ष संयोजक रहने र सबै वडा सदस्यहरु सदस्य रहने तथा राष्ट्रिय मान्यता प्राप्त दलहरुको प्रतिनिधि सम्मिलित १३ सदस्यीय सहजीकरण समिति गठन भई पहिलो चरणको अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भइसकेको छ ।
‘सबै वडाहरुमा अभिमुखीकरण र पहिलो बैठक भइसकेको छ’, चौलागाईले भन्नुभयो–‘सबै वडाहरुबाट पहिलो चरणमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपुर्जा बितरण गर्ने गरी प्राथमिकीकरण गर्ने र दोस्रो चरणमा अब्यवस्थित बसोबासीहरुलाई जग्गाको स्वामित्व दिलाउन पहल गर्ने निर्णय आएको छ ।’ वडास्तरीय सहजीकरण समिति गठन र अभिमुखीकरणसँगै सबै वडाहरुमा ऐलानी जग्गाको व्यवहारिक किनबेचलाई समेत रोकिएको छ ।
मनहरी गाउँपालिकामा ७ हजार ७ सय २४ जनाले अब्यवस्थित जग्गाको लालपुर्जा पाउनका लागि निवेदन दिएका छन् । साबिक मनहरीतर्फ वडा नं ६ को लोथर, नयाँबस्ती, डिपाड वडा नं ७ को रमन्टार, बिजौना, लामाबस्ती, निर्मलबस्ती, मनहरी बजारका उत्तरी क्षेत्रका बस्तीहरुका लालपुर्जा छैनन् ।
लालपुर्जाका बिना पनि मनहरी क्षेत्रमा करोडौँ रुपियाँमा जग्गा किनबेच हुँदै आइरहेको छ । व्यवहारिक कागज गरी वडा कार्यालयबाट प्रमाणित गराएर जग्गाको किनबेचको क्रम चल्दै आइरहेको छ ।