मनहरी–असोज ४ गते । मनहरी गाउँपालिका अन्तर्गत बाल अधिकार समितिले आयोजना गरेको नृत्य प्रतियोगितामा युनिभर्सल लर्निङ एकेडेमी प्रथम भएको छ । आधारभूत तह र माध्यमिक तहका ११ वटा विद्यालयमध्ये मनहरी ७ मा रहेको युनिभर्सलले प्रथम स्थान हासिल गरेको हो ।

प्रथम भएको युनिभर्सल लर्निङ एकेडेमी मनहरी ७ को टिम ।

चेपाङ संस्कृतिसँग जोडिएको झाँक्री विद्यामा आधारित गीतमा युनिभर्सललका ६ जना बालबालिका नृत्य गर्नु भएको थियो । प्रथम भएसँग युनिभर्सलले नगद १० हजार रुपियाँ र प्रमाण पत्र पाएको छ । त्यसैगरी द्वित्तीय स्थान मनहरी ६ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले हात पारेको छ ।

राष्ट्रिय गीतमा नृत्य गरेको उसले नगद ७ हजार रुपियाँसहित प्रमाण पत्र पाएको छ भने तृत्तीय स्थान मनहरी ७ कै मेरीगोल्ड टाइनिटस इंग्लिस स्कुलले हात पारेसँगै ५ हजार नगद र प्रमाणपत्र पाएको छ । उसले थारु समुदायको संस्कृतिसँग जोडिएर नाच प्रस्तुत गरेको थियो ।

प्रतियोगितामा राष्ट्रिय मावि सुनाचुरी, सीता माध्यमिक विद्यालय, मेरीगोल्ड टाइनिटस इंग्लिस बोर्डिङ स्कूल, युनाइटेड इंग्लिस सेकेन्डरी स्कुल, राष्ट्रिय रोटरी माध्यमिक विद्यालय, भोजसिद्ध माध्यमिक विद्यालय, जनज्योति आधारभूत विद्यालय, महेन्द्रकिरण माध्यमिक विद्यालय, युनिभर्सल लर्निङ एकेडेमी, प्रजा आधारभूत विद्यालय र पशुपतिनाथ माध्यमिक विद्यालय सहभागी भएको थियो ।

द्वित्तीय भएको राष्ट्रिय मावि सुनाचुरीको टिम ।

सहभागी तथा प्रथम, द्वित्तीय र तृत्तीय हुनेहरुलाई मनहरी गाउँपालिका उपाध्यक्ष एबम् बाल अधिकार समितिकी संयोजक सीता पुलामी मगरले प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गर्नुभयो । त्यसैगरी युनाइटेड इंग्लिस सेकेन्डरीका स–साना बालिकाहरु र युनिभर्सल लर्निङ एकेडेमीका विद्यार्थीहरुले मनहरी गाउँपालिकाको निर्माण गरेको गीतमा अप्रतियोगी टिमको रुपमा नृत्य गरेका थिए भने प्रजा आधारभूत विद्यालयका विद्यार्थी र मनहरीको आस्था कला केन्द्रका प्रशिक्षक मनिष लामाले पनि नृत्य गर्नु भएको थियो ।

निर्णायकहरुमा चलचित्र तथा नृत्य निर्देशक बाबुराम थिङ ‘बाबु’, मनहरी गाउँपालिका शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटा र रोजगार संयोजक शारदा पोखरेल रहनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले मनहरी गाउँपालिकाभित्र राष्ट्रिय स्तरको प्रतिभा रहेको भन्दै प्रशंसा गर्नुभयो ।

तृत्तीय भएको मेरीगोल्ड टाइनिटस इंग्लिस बोर्डिङ स्कुलको टिम ।

उहाँले आफू कार्यक्रममा बसिरहँदा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुले झै नृत्य प्रस्तुत भइरहेको आभाष भइरहेको भन्दै आगामी दिनमा समेत यस्तो कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो । बाल अधिकार समितिकी संयोजक एबम् गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरेको सभाध्यक्षतामा भएको कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख शिला अधिकारीले स्वागत र प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, माइती नेपालकी संयोजक माया लामा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सह प्रायोजकको रुपमा सिविन बाल हेल्पलाइन, राडो नेपाल, माइती नेपाल, हिमराइट्स, एस्थर बन्जामिन फाउण्डेसन, महिला तथा बालबालिका सरोकार केन्द्र, लियो क्लव अफ भुटनदेवी हेटौँडा लगायतका संघसंस्थाहरु रहेका थिए । भदौ २९ गते बाल दिवसका दिन कार्यक्रम तोकिए पनि सो दिन विद्यालयहरुमा परिक्षा चलेकाले नृत्य प्रतियोगिता असोज ४ गतेका लागि सारिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here