राक्सिराङ–भदौ १६ गते । राक्सिराङ गाउँपालिका वडा नं ९ खैराङमा रहेको बागेश्वरी आधारभूत विद्यालयमा अभिभावकसँग उठाइएको रकम फिर्ता गरिएको छ ।

नयाँ शैक्षिक सत्र सुरु हुने बेला भर्ना शुल्क भनेर उठाउन नमिले पनि सेवा शुल्क भनेर उठाइएको ४७ हजार रुपियाँ सम्बन्धित अभिभावकहरुलाई बोलाएर फिर्ता गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन मल्लले बताउनुभयो ।

‘संविधानले १२ कक्षासम्म निःशुल्क शिक्षा भनेको छ’, अध्यक्ष मल्लले भन्नुभयो–‘हामीले शिशुकक्षा देखि कक्षा ८ मा पढ्ने विद्यार्थीसँग बिगतदेखि नै रकम उठाउँदै आएकामा यसबर्ष त्यो निर्णय सच्याएका छौँ ।’ उहाँले निजी स्रोतबाट शिक्षकको व्यवस्था गर्नका लागि सेवा शुल्क लिइने गरेको बताउनुभयो । जिल्लाभर नै मासिक शुल्क नतोकिए पनि सेवा शुल्क भनेर भर्नाका बेला रकम लिने चलन अहिले पनि यथावत नै छ ।

संविधान विपरित विद्यार्थीसँग रकम लिन नपाइने भए पनि सरकारले यथोचित दरबन्दीको व्यवस्था नगरेकाले अधिकाँश विद्यालयहरुले सेवा शुल्क लिने गरेको पाइएको छ । तर, आफू अध्यक्ष भइन्जेले निजी स्रोतका शिक्षकहरुको तलब लगायत अन्य व्यवस्थापन आफैले विभिन्न दातृसंस्थाहरुसँग मागेर भए पनि मिलाउने प्रतिबद्धता गर्दै केही दिनअघि बसेको समितिको बैठकबाट संकलित रकम फिर्ता दिने निर्णय गरिएको अध्यक्ष मल्लले बताउनुभयो ।

निर्णय बमोजिम संकलित रकम अभिभावकहरुले फिर्ता लगिसकेको उहाँले जानकारी दिनुभयो ।
बागेश्वरी आधारभूत विद्यालयमा ३ सय जना विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालय राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको गाउँ रहेको विद्यालय हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here