मनहरी–साउन २९ गते । हेटौँडा सिमेन्ट उद्योगको हिसाव खोज्न आएको हुँ भन्दै जनतालाई उत्तेजित भाषण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको छत्रछायाँमा पुग्नु भएका मकवानपुर उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष राजकुमार न्यौपाने ।

बागमती प्रदेशस्तरीय भेला गर्दै हेटौँडामा गठित मकवानपुर जिल्ला कमिटीको संयोजकको रुपमा स्वतन्त्र पार्टीले न्यौपानेलाई छानेको छ । तर, अधिकाँश मानिसहरु चाहिँ केही समयअघि मात्रै केपी शर्मा ओलीको हातबाट खादा लगाएर पार्टी प्रवेश गरेका न्यौपाने कसरी स्वतन्त्र भए भन्दै प्रश्न गरिरहेका छन् । यसबारेमा मनहरी लाइभ डटकमले न्यौपानेलाई प्रश्न गरेको थियो । पढौँ, उहाँको जबाफ ।

२०७७ फागुन १६ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग न्यौपाने ।

२०७७ साल फागुन १६ गते तपाईले केपी ओलीको हातबाट खादा लगाउनु भएको होइन ?
खादा लगाएको सत्य हो । त्यसको छुट्टै कथा छ । केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । म नेपाल उद्योग बाणिज्य महासंघको सदस्य थिएँ । प्रधानमन्त्रीलाई एउटा उद्योगी, व्यवसायीको हैसियतमा बालुवाटारमै पुगेर भेट्न गएको हुँ । त्यसबखत लामै कुराकानी भयो प्रधानमन्त्रीसँग । र, त्यही क्रममा प्रधानमन्त्री ओलीले मलाई खादा लगाइदिनुभयो । मैले नाइँ भन्न मिलेन । त्यही बेला युवा व्यवसायी समिम खानले फोटो खिच्नु भएको रहेछ । त्यही फोटो सार्बजनिक भएको हो । म पार्टी प्रवेश गरेको होइन ।

–अनि त्यसपछि तपाई नेकपा (तत्कालीन एमाले र माओवादी मिलेर बनेको पार्टी) को समर्थनमा मकवानपुर उद्योग बाणिज्य संघमा उठेको कुरा त सत्य हो नि ?
म यो पार्टी, उ पार्टी भनेर हिँडेको होइन । त्यतिखेर कम्युनिष्ट पक्षधर साथीहरुले उम्मेदवारीका लागि आह्वान गर्नुभयो । हामी समर्थन गर्छाैं भन्नुभयो । म अन्याय किन सहेर बस्ने भनेर शक्ति केन्द्रहरु भत्काउनका लागि उम्मेदवारी घोषणा गरेर हिँडेको मान्छेलाई कसैले समर्थन गर्छु भन्छ भने नकार्ने कुरो पनि आएन । त्यै भएर त्यतिखेरको नेकपाले आग्रह गरेको कुरालाई मैले मानेको हुँ । तर, सदस्य भएर, कार्यकर्ता भएर म अहिलेसम्म कुनै पार्टीमा हिँडेको छैन ।

–भनेपछि एमालेमा तपाईको सदस्यता नै छैन ?
छैन । मलाई एकालाल श्रेष्ठले पटक पटक सदस्यता लिनुस्, कमिटीमा रहनुस् भन्नु भएको हो । तर मैले लिइनँ । म एमाले वा अरु कम्युनिष्ट पार्टीको होइन । प्रधानमन्त्रीले खादा लाइदिँदैमा त्यही पार्टीमा गयो भनेर बुझ्नु हुँदैन । मैले यो कुरा सबैलाई भनेको पनि छु ।

–अनि अब राष्ट्रिय स्वतन्त्र पार्टीको नेता भएर के गरुँला भन्ने ठान्नु भएको छ ? तपाईका केन्द्रीय अध्यक्षले हेटौँडामा पनि हिसावकिताब खोज्ने भन्नु भएको छ, थाहा छैन र तपाईलाई हिसाव किताव ?
कुरो यस्तो हो । हेटौँडालाई समुन्नत बनाउने भिजन कुनै पनि दलसँग छैन । म उद्योग बाणिज्य संघ अध्यक्ष हुँदा धेरै कुरा फिल गरेको छु । मकवानपुरलाई मायाँ गर्ने पार्टी र मान्छे मैले भेटेको छैन । अब हामी गर्छाै भन्ने भावना जागृत भएर आएको छ । मलाई थाहा छ, हामीले चाहँदा समुन्नत हेटौँडा निर्माण गर्ने अनि हेटौँडालाई समुन्नत बनाउनका लागि यहीँको उत्पादनलाई प्रवद्र्धन गर्न सक्ने थुप्रै सम्भावनाहरु छन् । हामी त्यो सम्भावनालाई खोतल्छौँ ।

–अब पार्टी कसरी अघि बढ्छ त ?
अहिले म संयोजक भएको हुँ । जिल्ला कमिटी गठन हुँदैछ । यो एउटा तदर्थ समिति हो । भेला गरेर यो कमिटीले पूर्णता र बैधानिकता पाउनेछ । एबम् रीतले अब पार्टी अघि बढ्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here