मनहरी–साउन २६ गते । डिभिजन वन कार्यालय राप्ती मनहरीको पहलमा हेटौँडा उपमहानगरपालिका १९ स्थित जनहीत सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा पर्ने बासुदेवमा सतिसालको बिरुवा रोपेको छ ।

सामुदायिक वन दिवसको अबसर पारेर कार्यालयले ६ सय थान सति सालको बिरुवा रोपेको हो । बिरुवा रोप्नका लागि बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बिशाल खड्का स्वयम् उपस्थित हुनु भएको थियो । उहाँले सतिसालको बिरुवा रोप्दै सतिसालको बिगतको पहिचानलाई पुनर्ताजगी गराउने प्रयत्नप्रति सरोकारवालाहरुलाई धन्यवाद दिनुभयो ।

सतिसालको महत्वबारे बताउँदै डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णु प्रसाद आचार्य ।

कार्यक्रममा बन सचिव यज्ञनाथ दाहालले सतिसाल २०३६ सालको राजनीतिक आन्दोलनपछि मासिएको अनुभव सुनाउनु भयो । उहाँले राम्रा फर्निचर हुने सतिसाललाई पुन पुरानै हैसियतमा ल्याउनका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ हेटौँडा उपमहानगरपालिका अध्यक्ष शम्भु न्यौपाने, इको क्लवकी स्वस्ति पौडेल, जनहीत सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बिक्रम पण्डित लगायतले धारणा राख्नु भएको थियो ।

सतिसालको बिरुवा रोप्नुहुँदै वन तथा वातावरण मन्त्री बिशाल खड्का ।

सतिसाललाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने गरी काम अघि बढाइएको डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णु प्रसाद आचार्यले बताउनुभयो । सतिसाल झैँ सीता अशोक, बिजय साल लगायत लोपोन्मुख वनष्पतिको संरक्षणका लागि प्रयत्न जारी राखिएको उहाँले जानकारी दिनुभयो ।

बिरुवा रोप्ने कार्यक्रममा जनहिन सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र उपभोक्ताहरु, स्थानीय समाजसेवी, बुद्धिजीवि, पत्रकार, डिभिजन वन कार्यालय हेटौँडाका प्रमुख शिव सापकोटासहितको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here