मनहरी–साउन १९ गते । पाँच बर्षको अबधिमा समेत नयाँ भवन बनाउन नसकेको मनहरी गाउँपालिकाले भाडाको घरमा राखिएका विभिन्न शाखाहरुलाई आफ्नै स्वामित्वको भवनमा सारेको छ ।

मनहरी गाउँपालिका ९ रजैयामा ब्यक्तिको घर भाडामा लिएर गाउँपालिका र शाखाहरु व्यवस्थापन गरिएको थियो । तीमध्ये प्रशासनिक भवन र केही शाखाहरुलाई रजैयामै राखी बाँकी शाखाहरुलाई मनहरी गाउँपालिका ३ लामिटारस्थित आफ्नै स्वामित्वको भवनमा व्यवस्थापन गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले आफ्नै स्वामित्व र लगानी रहेको भवन खाली र बेवारिस बन्ने अबस्था र अर्काेतर्फ घर भाडामा लिएर कार्यालय व्यवस्थापन गर्दा ब्ययभार बढी परिरहेको अबस्था बिश्लेषण गरी शाखाहरुलाई लामिटार सारिएको बताउनुभयो ।

श्रेष्ठका अनुसार लामिटारमा रहेको सभा हल, सेफ हाउस र समावेशी भवनमा समेत शाखाहरु व्यवस्थापन गरिएको छ । शिक्षा शाखा, उद्यम विकास शाखा, भूमि व्यवस्थापन शाखा, महिला तथा बालबालिका शाखा, प्रधानमन्त्री स्वरोजगार सेवा केन्द्र शाखा, खानेपानी शाखा, स्वास्थ्य शाखा, सामाजिक विकास शाखा र न्यायिक शाखालाई लामिटारस्थित तीनवटा भवनमा व्यवस्थापन गरिएको हो ।

साउन १ गतेबाट व्यवस्थापन गरिएको शाखा अन्तर्गतका एकमुष्ट भवनलाई मनहरी गाउँपालिका ‘क’ ब्लक नामाकरण गरी त्यहाँ छुट्टै दर्ता चलानी किताव र कर्मचारी हाजिरीको पनि छुट्टै व्यवस्था मिलाइएको श्रेष्ठले बताउनुभयो ।

गाउँ कार्यपालिकाले शाखा व्यवस्थापनका लागि साउन १८ गते कार्यपालिका बैठकमा गरेको निर्णय ।

केही शाखाहरु ‘क’ ब्लकमा सारिएपछि अब रजैयामा रहेको भाडाको घरमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत कक्ष, लेखा शाखा, राजश्व शाखा, प्रशासन शाखा, योजना शाखा, जिन्सी शाखा, पूर्वाधार विकास शाखा, सूचना प्रविधि शाखा र आन्तरिक लेखा परिक्षण शाखा रहेका छन् । पाँच बर्षदेखि निरन्तर भाडामा कार्यालय व्यवस्थापन गरिएको रजैयास्थित भवन मनहरी गाउँपालिका ९ नं वडा सदस्य पर्वदेव अधिकारीको घर हो ।

नयाँ भवन बनाउने प्रयास सुरु
अघिल्लो सरकारले ५ बर्षको अबधिमा पनि नयाँ भवन बनाउन नसक्दा दोस्रो कार्यकालका जनप्रतिनिधिहरु पनि भाडाकै घरमा बस्न बाध्य भए । यद्यपि अघिल्लो कार्यकालमा प्रशासनिक भवन निर्माणको नक्सासहितको डिपिआर तयार गरेको थियो ।

मनहरी गाउँपालिका वडा नं ९ मा गाउँपालिको प्रशासनिक भवन (केन्द्र) रहने कानूनी व्यवस्था छ । तत्कालीन राज्यको पुनसंरचना कार्यान्वयन हुँदा सर्बदलीय बैठकले साबिक हाँडीखोला गाविस र मनहरी गाविस मिलाएर बन्ने गाउँपालिकाको नाम मनहरी राख्ने र प्रशासनिक केन्द्र मनहरी ९ रजैया राख्ने राजनीतिक सहमति गरेको थियो ।

सोही बमोजिम एकराज उप्रेती नेतृत्वको अघिल्लो कार्यकालको जनप्रतिनिधिले रजैयामा रहेको क्लव भवनमा पदभार ग्रहण गरेका थिए र केही महिना साबिक मनहरी गाविसको कार्यालयबाट गाउँपालिकाको काम सञ्चालन गरेका थियो ।

राजनीतिक सहमति बमोजिम मनहरी ९ स्थित पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ रहेको हरियालाी सामुदायिक वन उपभोक्ता समूहको घाटगद्दी राखिएको क्षेत्रमा गाउँपालिका भवन बनाउने तयारी थियो । सोही बमोजिम नक्सांकन र डिपिआर सम्पन्न भइसकेको छ ।

तर, वन मन्त्रालयबाट भवन निर्माणका लागि स्वीकृति प्राप्त नभएकाले भवन निर्माणको ठेक्का अघि बढेको थिएन । अहिले पनि सोही बमोजिम नै घाटगद्दी क्षेत्रमा भवन निर्माणका लागि गाउँपालिका अध्यक्ष रन्जन कालाखेती नेतृत्वको टिमले प्रयत्न गरिरहेको छ ।

साउन १८ गते बसेको कार्यपालिका बैठकमा यसबारे पर्याप्त छलफल भएको र जग्गा प्राप्तिका लागि वन मन्त्रीलाई तत्कालै भेटघाट गरी जग्गा प्राप्तिका लागि पहल गर्ने समझदारी बनेको एक कार्यपालिका सदस्यले बताउनुभयो ।

यदि वन मन्त्रालयबाट जग्गा प्राप्तिसम्बन्धी स्वीकृति नगरेमा जग्गा दान गर्न चाहनेहरुसँग जग्गा माग्ने अथवामा खरिद गरेर भए पनि भवन बनाउने निष्कर्षमा गाउँपालिका अध्यक्ष कालाखेतीसहितको कार्यपालिका टिम सहमत भएको बताइएको छ । ‘जग्गा खरिद गरेरै भए पनि भवन बनाइनुपर्छ, भवन नहुँदा लाजमर्दाे भइसक्यो’, गाउँपालिका अध्यक्ष कालाखेतीले बैठकमा भन्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here