मनहरी–साउन १९ गते । नेपालका विभिन्न क्षेत्र स्थानहरुमा आत्महत्याको दर डरलाग्दो देखा पर्ने गरेको छ । पश्चिम मकवानपुरको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न स्थानहरुमा गरी एक बर्षमा १३ जनाले झुन्डिएर र ४ जनाले बिषय सेवन गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

आर्थिक बर्ष २०७८/०७९ को तथ्याङ्क सार्बजनिक गर्दै इलाका प्रहरी कार्यालय मनहरीले यो आर्थिक बर्षमा १०६ वटा मुद्दा दर्ता भएको जनाएको छ । अर्काे डरलाग्दो तथ्य त के छ भने झुन्डिएका १३ जनामध्ये ९ जनाले अघिल्लो महिना अर्थात असार महिनाभरमा झुन्डिएर आत्महत्या गरेका थिए ।

इलाका प्रहरी कार्यालय मनहरीबाट सरुवा भएर सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयमा जाँदै गर्दा प्रहरी निरीक्षक प्रकाश थापाले भन्नुभयो–‘असार महिना अपराधको महिना हुने गर्छ, असार महिनामा मात्रै २४ वटा अपराध प्रहरीको अभिलेखमा रेकर्ड भएको छ ।’

इलाका प्रहरी कार्यालय मनहरीले उपलब्ध गराएको तथ्यांक अनुसार ज्यानसम्बन्धी मुद्दा ३ वटा, चोरी मुद्दा ३ वटा, सबारी ज्यानसम्बन्धी मुद्दा १० वटा, विवाहसम्बन्धी मुद्दा १ वटा, लागूऔषध सम्बन्धी मुद्दा२९, करणीसम्बन्धी कसुर ८ वटा, भबितब्य सम्बन्धी मुद्दा १३, फुटकर ज्यानसम्बन्धी मुद्दा ३ वटा, सबारी अंगभंग सम्बन्धी मुद्दा ३ वटा, जुवा र बोक्सी आरोप सम्बन्धी मुद्दा एक/एक दर्ता भएका थिए ।

यी मुद्दाहरुमा १४८ जना अभियुक्त रहेकामा ८४ जना पुरुष, ४ जना महिला र एकजना बालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । अपराध नियन्त्रणका क्रममा प्रहरीले ८५० किलोग्राम गाँजासहित ४० जना मानिस र ५ वटा सबारी साधन नियन्त्रणमा लिएको छ ।

त्यसैगरी २० किलोग्राम चरेशसहित ३ जना पक्राउ परेका छन् । १०२३ एम्पुल लागूऔषधसहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मनहरीमा समस्याको रुपमा अबैध नदीजन्य बस्तुको उत्खनन् र ओसार पसारमा संलग्न१७० वटा ट्रेक्टर समेत पक्राउ गरी कारबाहीका लागि गाउँपालिका पेस गरिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here