मनहरी–असार २८ गते । मनहरी गाउँपालिका ८ स्थित ऐतिहाँसिक महेन्द्र किरण माध्यमिक विद्यालय सुधार गर्न मनहरी गाउँपालिकाले प्रधानाध्यापक राधालाल मण्डललाई ६ महिनाको म्याद दिएको छ ।

कक्षा १२ सम्म नियमित र कृषि बाली विज्ञान बिषयको समेत अध्ययन भइरहेको महेन्द्र किरण माध्यमिक विद्यालय मनहरी गाउँपालिकाकै सबैभन्दा बढी दरबन्दी र स्रोत सम्पन्न विद्यालय हो ।

तर स्रोत साधन तथा पर्याप्त जनशक्ति हुँदा समेत सही नजिता ननिस्केको र अभिभावकमाझ विद्यालयप्रतिको दृष्टिकोण नै नकारात्मक हुँदै गएपछि मंगलबार गाउँपालिकाले महेन्द्रकिरण माध्यमिक विद्यालयको आकस्मिक अनुगमन गरिएको हो । अनुगमनका क्रममा विद्यार्थी, शिक्षक, व्यवस्थापन समिति लगायतका पक्षहरुको कुरा सुनिसकेपछि गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले भन्नुभयो–‘६ महिनाभित्र तपाईले विद्यालय सुधार गरेको सन्देश दिनुस्, नत्र तपाईकै पनि बिकल्प पनि खोज्नुपर्ने हुन्छ ।’

उहाँले विद्यालयका स–साना समस्याहरु पनि समाधान नभएको र बालबालिकाहरुले पर्याप्त गुनासो गरेकोप्रति इंगित गर्दै भन्नुभयो–‘यहाँका प्रधानाध्यापक, शिक्षकहरुबाट आम समाजले नमूनाको रुपमा धेरै कुरा सिक्नुपर्ने होइन ? किन तपाईहरुलाई नमूनाको रुपमा स्वीकार गर्न नसक्ने अबस्था सिर्जना भयो ?’

महेन्द्रकिरण माविमा भएको शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति र जनप्रतिनिधिहरुसहितको छलफल ।

अनुगमन गर्दा दिवा खाजाको उचित व्यवस्थापन नभएको, शौचालयमा पानीको व्यवस्थापन नभएको, सामान्य मर्मतका कामहरु पनि सम्पन्न हुन नसकेको पाइएको थियो । गाउँपालिका अध्यक्ष कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर, शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटा, स्रोत व्यक्ति पूर्णभद्र भुसाल, ८ नं वडाका वडाध्यक्ष नारायण उप्रेती, प्याव्सन मनहरीका अध्यक्ष शिवकुमार रिजालसहितको टोलीले शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमलाल उप्रेती लगायतसँग अन्तरक्रिया गरेको थियो ।

अन्तरक्रियाका क्रममा शिक्षक र विद्यार्थीहरुले प्रधानाध्यापक राधालाल मण्डलको कार्य सम्पादनबारे प्रश्न उठाएका थिए । छलफलमा ‘झ्यालको पल्ला नभएर बर्खाको पानीले किताब भिजेको भिज्यै छ’, कक्षा ९ कि एक छात्राले भन्नुभयो–‘असार १३ गते बनाउँछु भन्नु भएको थियो, अहिलेसम्म झ्याल बनेको छैन ।’ त्यसैगरी विद्यालयमा शौचालय टाढा रहेको, शौचालयमा पानीको व्यवस्थापन नभएको, अतिरिक्त क्रियाकलापहरु केही पनि नभएको लगायतका गुनासाहरु विद्यार्थीहरुले व्यक्त गरेका थिए ।

महेन्द्रकिरण माध्यमिक विद्यालयभित्रका समस्याहरु गाउँपालिका अध्यक्ष सामु प्रस्तुत गर्दै विद्यार्थी ।

शिक्षकहरुले पनि विद्यालय प्रशासनले आफूहरुलाई कुनै पनि आधिकारिक जानकारी नगराउने गरेको र बैठकमा पनि कुनै ठोस कुरा नहुने गरेको भन्दै प्रधानाध्यापक राधालाल मण्डलप्रति गुनासो गरेका थिए । बर्खे विदा, विद्यालय खुल्ने समय, परिक्षा आदिबारे शिक्षकहरु अझै अनविज्ञ रहेको भन्दै विद्यालय प्रशासनले अतिरिक्त कक्षा चलाएबापतको भत्ता समेत विभेदकारी हिसावले बितरण गरिरहेको शिक्षकहरुले बताए ।

जबाफमा प्रधानाध्यापक मण्डलले आफ्ना केही कमजोरीहरु रहेको स्वीकार गर्दै अब सुध्रेर अघि बढ्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमलाल उप्रेतीले बर्षौंदेखि विद्यालय ऋणमा डुबेकोले ऋणबाट उतार्ने प्रयत्न भइरहेको बताउनुभयो ।

छलफलमा शिक्षा प्रमुख हरिचन्द्र सापकोटा, सञ्चारकर्मी शिवकुमार काशी लगायतले विद्यालय सुधारका लागि सुझावहरु प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी ८ नं वडाध्यक्ष नारायण उप्रेतीले विद्यालयको समस्या समाधानका लागि आफ्नो तर्फबाट पूरापूर सहयोग हुने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा भएको शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, व्यवस्थापन समितिसहितको छलफल ।

अनुगमन टोलीले विद्यालय र सम्बद्ध सरोकारवालालाई जानकारी नदिईकनै अनुगमन गरेको हो । त्यसैगरी मनहरी ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा पनि टोलीले अनुगमन गरी सुझाव संकलन गरेको थियो । राष्ट्रिय रोटरी माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम बानियाँ तथा शिक्षकहरु, ७ नं वडाका वडाध्यक्ष ठाकुरराम तितुङ, सदस्य नवराज सुवेदी लगायतको सहभागिता थियो ।

अनुगमनपछि आयोजित छलफल कार्यक्रममा सबै शिक्षक, विद्यार्थी र सरोकारवालाको कुरा सुनिसकेपछि गाउँपालिका अध्यक्ष कालाखेतीले विद्यालयको सुधारका लागि पाँच बर्षे कार्यकालमा भरपुर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै लगानी अनुसार नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here