निर्माणाधीन ट्वाङ्ग्रा खोला पुल ।

मनहरी–असार २६ गते । मनहरी गाउँपालिकाले आफ्नै पहलमा निर्माण थालेको पाँच वटी पक्की पुल सम्पन्न गर्न आगामी आर्थिक बर्ष २०७९/०८० का लागि १५ करोड रुपियाँ बिनियोजन गरेको छ ।

एघारौँ गाउँसभामा उपाध्यक्ष सीता पुलामीमगरले प्रस्तुत गर्नु भएको बजेटमा साबिक हाँडीखोला गाविसतर्फ निर्माणाधीन अबस्थाका ५ वटा पुलका लागि १५ करोड छुट्याइएको उल्लेख छ ।

मनहरी गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको च्यापल खोला, ठाडोखोला, हाँडीखोला, मसिनेखोला र ट्वांग्रा खोलामा पक्की पुल निर्माणाधीन छ । कूल ३४ करोडको लागतमा निर्माण भइरहेको ती पुलमध्ये च्यापलखोला, ठाडोखोला र हाँडीखोलाको प्रगति ७० प्रतिशत र मसिने तथा ट्वांग्रा खोलाको प्रगति ३५ प्रतिशत रहेको छ ।

दुई बर्षअघि मनहरी गाउँपालिकाले संघीय र प्रदेश सरकारसँग बजेट माग नगरी आफ्नै लगानीमा पुल निर्माण थालेको हो । आगामी आर्थिक बर्षमा पुल निर्माण कार्यलाई सम्पन्न गर्नेगरी बजेट बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभयो । ‘अपूरो रहेका पुलहरुको निर्माणलाई प्राथमिकतामा राखी हामीले १५ करोड रुपियाँ बिनियोजन गरेका छौँ’, उहाँले भन्नुभयो ।

पक्की पुलमा ठूलो परिमाणको रकम लगानी गर्नुपरेकाले नयाँ बजेटमा यथेष्ट शीर्षकहरुमा बजेट बिनियोजन गर्न नसकिएको उहाँको भनाई छ । अर्काे बजेट बनाउँदा पुल लगायत भौतिक पूर्वाधारमा लगानी कम हुने र त्यसबेला अन्य थुप्रै योजनाहरुलाई अघि बढाउन सकिने उहाँले अनुमान गर्नु भयो ।

मनहरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० का लागि कूल ९१ करोड ८ लाख २६ हजार बराबरको बजेट बिनियोजन गरेको छ । जसमध्ये पूर्वाधार विकासतर्फ ३८ करोड ९६ लाख ६० हजार अर्थात ४२.७८ प्रतिशत रकम बिनियोजित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here