मनहरी–असार १७ गते । निरन्तर बेरुजु बढिरहँदा पनि बेरुजु घटाउने र असुल उपरलाई कडाई गर्ने बिषयमा निरिह देखिएको मनहरी गाउँपालिकामा यसपटक बेरुजु घटाउनका लागि नव निर्बाचित जनप्रतिनिधिले ध्यान दिएका छन् ।

संवैधानिक हिसावले संघीय संसदमा झैँ मनहरी गाउँपालिकाले पनि लेखा समिति निर्माण गरी बेरुजु फरफारक गर्ने कार्यलाई ध्यान दिएको छ । असार १७ गते बिहान बसेको कार्यपालिका बैठकमा बेरुजु फरफारक गर्ने र बेरुजुको अंक घटाउनका लागि अधिकतम प्रयत्न गर्नेबारे मसिनो छलफल भएको प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले गाउँ सभाले गंगा सुनारको संयोजकत्वमा लेखा समिति गठन गरी बेरुजु फरफारक गर्ने र असुल गर्नुपर्ने रकमको असुलीका लागि पहल गर्ने प्रयत्न भइरहेको बताउनुभयो । सुनारको संयोजकत्वमा आइतसिंह स्याङ्तान र पन्चलाल थिङ सदस्य तथा गाउँपालिकातर्फबाट आन्तरिक लेखा परिक्षक दिपेश महतो सदस्य सचिव हुने गरी समिति गठन भएको थियो ।

समितिले बेरुजु कायम भएका व्यक्ति, फर्म, संस्था र उपभोक्ता समितिका पदाधिकारीहरुलाई बोलाएर बेरुजु फरफारकका लागि आवश्यक कागजपत्रलाई पूर्णता दिन पहल र सहजीकरण गर्ने तथा असुल उपर गर्नुपर्ने व्यक्तिहरुलाई समेत सम्पर्कमा ल्याउने गरी काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभयो । मनहरी गाउँपालिकामा पछिल्ला तीन बर्षयता बेरुजु ३० करोडको हाराहारीमा पुगेको बताइएको छ ।

त्यसैगरी कार्यपालिका बैठकले राजश्व परामर्श समिति सञ्चालनसम्बन्धी कार्यविधि पारित गरेको छ । बैठकमा एघारौँ गाउँ सभाको अन्तिम बैठक असार २३ गते बस्ने र बिनियोजन बिधेयक (बजेट) पारित गर्नेगरी तयारी समेत गरेको छ ।

कार्यपालिका बैठकमा उपस्थित कार्यपालिका सदस्यहरुले यसअघिका ३ वटा कार्यपालिका बैठकले गरेको निर्णयहरुको समेत मसिनो समिक्षा गरेको थियो । यसअघिका बैठकहरुको निर्णयहरु कार्यान्वयनको अबस्था मूल्यांकन गर्दै आगामी दिनहरु अझ उत्साहका साथ अघि बढ्नेगरी कार्यपालिका बैठकमा जनप्रतिनिधिहरु प्रस्तुत हुनु भएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभयो ।

‘हामीले निर्णय गर्ने मात्र होइन, गरेका निर्णयहरु कार्यान्वयन भयो कि भएन भनेर हेरेनौँ भने निर्णय गर्नुको अर्थ हुन्न’, अध्यक्ष कालाखेतीले भन्नुभयो–‘जनतामाझ देखिने, सुनिने र भेटिने काम गर्नेगरी अघि बढेका छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here