राक्सिराङ–असार १० गते । राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ६२ करोड ३४ लाख १५ हजार रुपियाँको बजेट प्रस्ताव गरेको छ ।

उपाध्यक्ष बनस्तम थिङले अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो । प्रस्तावित बजेटमध्ये ३५ करोड ७५ लाख ७ हजार ५ सय चालु र २६ करोड ५९ लाख ७ हजार ५ सय पुजीँगत तर्फ खर्च हुने उपाध्यक्ष थिङले जानकारी दिनुभयो ।

त्यसैगरी राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम गाउँ सभाले पारित गरेको छ । अघिल्ला बर्षहरुकै कार्यक्रमलाई अधिकाँश निरन्तरता दिइएको नीति तथा कार्यक्रममा यस बर्ष दुई वटा नयाँ बिषयले प्रवेश पाएको छ ।

राक्सिराङ गाउँपालिकामा गरिव परिवारको स्वास्थ्य बीमा गर्दा ७५ प्रतिशत रकम स्थानीय सरकारले व्यहोर्ने बिषयलाई राक्सिराङ गाउँपालिकाले प्राथमिकतामा राखेको छ । ‘मूल कुरा स्वास्थ्य नै हो, यहाँका गरिव मानिसहरु अस्पताल गएर दीर्घरोगको उपचार गर्न सक्दैनन्’, अध्यक्ष मल्लले भन्नुभयो–‘गरिव घर पहिचान कार्यक्रम अन्तर्गत संघीय सरकारले गरेको सर्बेक्षणमा गरिव देखिएका सबै परिवारलाई ७५ प्रतिशत अनुदान दिएर अनिबार्य स्वास्थ्य बीमा गराउँछौँ ।’

त्यसैगरी राक्सिराङ गाउँपालिकामा हरेक बर्ष चट्याङका कारण मानवीय क्षति हुँदै आएकामा त्यसलाई न्यूनिकरणका लागि अर्थिङ जडान गर्नका लागि अनुदान दिने व्यवस्था नीति तथा कार्यक्रममा गरिएको छ ।

यसअघि निरन्तर सञ्चालनमा रहेका स्वास्थ्य, शिक्षा, सामाजिक सेवा, भौतिक र आर्थिक विकासका कार्यक्रमलाई राक्सिराङ गाउँपालिकाले जोड दिएको छ । राक्सिराङ गाउँपालिकाले युवालाई कृषिमा आकर्षित गर्नका लागि अध्यक्ष किसान लगानी कोष र कृषि ऋणमा ब्याज अनुदान लगायतका कार्यक्रम ल्याएको छ ।

त्यसैगरी राक्सिराङ गाउँपालिकामा लगानी सम्मेलन आयोजना गरी निजी क्षेत्रलाई राक्सिराङमा भित्र्याउने प्रयत्न गर्ने कुरालाई पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । साथै सरकारले बन्देज लगाएको गाँजा खेतीका कारण बर्षेनी सयौँ युवाहरु जेलमा जानुपर्ने बाध्यतालाई स्मरण गर्दै गाँजा खेतीको बैधानिकताका लागि राष्ट्रिय स्तरको अन्तरक्रिया कार्यक्रम गरी स्थानीय सरकारको तर्फबाट समेत गाँजालाई आर्थिक बृद्धिसँग जोड्ने प्रयत्न गर्ने राक्सिराङ गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाले गाउँसभाको अर्काे बैठक असार २४ गतेलाई बोलाएको छ । छोटो, छरितो र प्रभावकारी कार्यक्रमहरु समेटेर नीति तथा कार्यक्रम बनेको र कार्यान्वयनमा सहज हुने गरी बजेट समेत निर्माण भई पारित हुने गरी गृहकार्य गरिएको प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here