राक्सिराङ–असार १० गते । राक्सिराङ गाउँपालिका वडा नं ९ खैराङमा रहेको कालिका माध्यमिक विद्यालयमा भ्रष्टाचार भएको र वडाध्यक्ष लगायतले रक्सी, चुरोट पिएको खर्च समेत विद्यालयले व्यहोरेको समाचारको खण्डन गरिएको छ ।

विद्यालय व्यवस्थाप समितिको बैठकले समाचारको खण्डन गर्दै निर्णयहरु सार्बजनिक गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर अर्यालको अध्यक्षता तथा पूर्वअध्यक्षसहित बुद्धिजीवि, टोल विकास संस्थाका प्रतिनिधिहरु समेत सम्मिलित बैठकले शिक्षक अभिभावक संघका अध्यक्ष आयुश खड्काले आफ्नो स्वार्थ पूरा नहुँदा पूर्वाग्रही ढंगले सामाजिक सञ्जाल र मिडियाहरुमा विद्यालयबारे भ्रम छरेको निष्कर्ष निकालेको हो ।

बैठकले खड्काले छात्राबास निर्माणका लागि आफ्नो जग्गा विद्यालयलाई बेच्न चाहेको तर विद्यालयले अर्काे सस्तो जग्गा किनेपछि पूर्वाग्रह साँचेर विद्यालयको बदनाम गरेकाले बाहिर सार्बजनिक भएको समाचारप्रति भ्रममा नपर्न अनुरोध गरेको छ ।

साथै स्थानीय किराना पसलमा रहेको बील वडाध्यक्ष र विद्यालयसँग सम्बन्धित नरहेको पनि बैठकले स्पष्ट पारेको छ । खड्काले सामाजिक सञ्जालमा विद्यालयले मदिरा तथा चुरोट खरिद भएको किराना पसलको खाता प्रयोग गरेको र वडाध्यक्षको सत्कारका लागि ती बस्तुहरु प्रयोग भएको भन्दै सार्बजनिक गर्नु भएको थियो ।

बैठकले पूर्व प्रधानाध्यापक बिनोद खत्रीले सापटी लिएको १ लाख दश हजारमध्ये ७० हजार रुपियाँ फिर्ता भइसकेको र बाँकी रकम यसै असारमसान्तसम्ममा फिर्ता गरिसक्न निर्देशन दिएको छ ।

तलबभत्ता, पाठ्यपुस्तक लगायत शीर्षकहरुमा प्राप्त रकम सम्बन्धित शीर्षकमा नै खर्च भएकाले खड्काले आरोप लगाएजस्तो विद्यालयमा कुनै किसिमको भ्रष्टाचार नभएको बैठकले स्पष्ट पारेको छ । बैठकको अन्तिम निर्णयमा भूलचुकमा विद्यालयको तर्फबाट कमजोरी भएको भए एकपटकका लागि जोकोहीलाई माफी दिने र सुध्रनका लागि सचेत पार्ने निर्णय समेत गरिएको छ ।

बैठकमा अठारे टोल विकास संस्थाका अध्यक्ष देवशंकर अर्याल, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार लेखबहादुर घिमिरे, पूर्व अध्यक्ष लोकनाथ अर्याल, निवर्तमान वडा सदस्य कर्णकुमारी राउत लगायत आमन्त्रित सदस्य रहनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here