मनहरी–असार ७ गते । राक्सिराङ र मकवानपुरगढी गाउँपालिकामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढेको छ ।

बिपद्का बेला नियमित र आकस्मिक कामहरु गर्नका लागि दुईवटा पालिकामा प्लान नेपालको आर्थिक सहयोगमा राडो नेपालले आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनका लागि सहजीकरण गरेको हो ।

राक्सिराङ र मकवानपुरगढी गाउँपालिकामा बिपद्का बेला आवश्यक पर्ने सुरक्षा सामग्रीसहित कार्यालय व्यवस्थापनका लागि राडो नेपालका तर्फबाट सामग्रीहरु हस्तान्तरण भएको छ । कार्यालय सञ्चालनका लागि कम्प्युटर, प्रिन्टर, क्यामेरा, टेबल, कुर्सी लगायतका सामग्रीहरु व्यवस्था गरिएको छ ।

त्यसैगरी बिपद्का बेला आवश्यक पर्ने स्ट्रेचर, ह्यान्ड माइक, भ¥याङ, उड कटर, आगो निभाउने उपकरण, बन्चरो, लाइफ ज्याकेट लगायतका सुरक्षा सामग्रीहरु पालिकाहरुलाई हस्तान्तरण गरिएको राडो नेपालका कार्यक्रम संयोजक दीपेन्द्र पाठकले बताउनुभयो ।

राडो नेपालले बिपद् व्यवस्थापनको क्षेत्रमा समेत काम गर्दै आइरहेको सन्दर्भमा यसअघि नै जिल्लास्तरीय आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा स्थापना भइसकेको छ । साथै आपतकालीन केन्द्र सञ्चालन कार्यविधि निर्माण गरेर समेत आपतकालीन केन्द्र स्थापना गरिएका कार्यालय र पालिकाहरुलाई हस्तान्तरण गरिसकिएको राडो नेपालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here