मनहरी–जेठ २९ गते । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर (प्रजा) चेपाङले बागमती प्रदेश सरकारले चेपाङ संरक्षित क्षेत्रको रुपमा राक्सिराङसहितका गाउँपालिकाहरुलाई घोषणा गरी चेपाङ बाहूल्यता क्षेत्रको विकासमा ठूलो योगदान गर्न लागेको बताउनु भएको छ ।

राक्सिराङ गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम निर्माण गर्नुपूर्व आयोजित सरोकारवालासँगको अन्तरक्रियामा बोल्दै उहाँले यसअघिदेखि नै भएको पहलले सार्थक रुप नलिएको सम्झना गर्दै अहिलेको सरकारले नीति तथा कार्यक्रममा चेपाङ संरक्षित क्षेत्रलाई समेटेको बताउनुभयो । स्थानीयबासिन्दा समेत रहनु भएका राज्यमन्त्री चेपाङले संरक्षित क्षेत्रका कार्यान्वयनका लागि मुख्यमन्त्रीको नेतृत्वमा ९ सदस्यीय समिति निर्माण हुने गरी कानून निर्माणको कार्य समेत अघि बढिसकेको बताउनुभयो ।

सभाध्यक्षको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले स्थानीय सरोकारवालासँगको छलफलले मात्रै नीति तथा कार्यक्रम निर्माणका लागि सजिलो हुने भएकाले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले अब स–साना कुरामा अल्झेर नबस्न युवाहरुलाई सुझाव दिँदै समृद्ध राक्सिराङ निर्माणका लागि सबैसँग हातेमालो गरेर जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति लालबहादुर थापाले यसअघिको कार्यकालमा आफ्नो र अध्यक्ष मल्लको भेट नभएको स्मरण गराउँदै सत्तापक्ष र प्रतिपक्षको सहकार्यमा राक्सिराङको आर्थिक, सामाजिक, राजनीतिक विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा निवर्तमान वडाध्यक्ष तथा नेकपा एमाले राक्सिराङ गाउँपालिका इन्चार्ज बाबुलाल स्याङ्तान, नेकपा माओवादी केन्द्रका अध्यक्ष हस्तबहादुर मुक्तान, नेपाली काँग्रेसका सभापति बिरेन्द्र जिम्बा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष ज्ञानेन्द्र तामाङ, राष्ट्रिय जन वकालत मञ्चका निर्देशक भोला भट्टराई लगायतले धारणा ब्यक्त गर्नु भएको थियो ।

त्यसैगरी खुला सत्रका बेला नेपाल रेडक्रस सोसाइटी सरिखेत उपशाखा सभापति चित्रबहादुर थिङ, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय सदस्य बद्री देवकोटा, चेपाङ अधिकारकर्मी बिशुमान चेपाङ, समुन्नत नेपालका फिल्ड संयोजक देवकुमार प्रजा, सूर्याेदय माध्यमिक विद्यालयका प्रधानाध्यापक सीताराम सुवेदी, सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङ अध्यक्ष केशव भारती, राडो नेपालका दीपेन्द्र पाठक, खेलकुद विकास समितिका सदस्य सन्तोष थापा, स्थानीय व्यवसायी रुद्र मुक्तान, निरमाया मुक्तान, इशा दोङ, देव लामा, दीपक घलान, राधाकृष्ण बर्ताैला, पूर्णबहादुर प्रजा, रामप्रसाद साह, दिनेश चेपाङ, काजीराम मुक्तान लगायतले रोजगारी, सहकारी, वन, वातावरण, सामाजिक विकास, सडक, स्वास्थ्य, शिक्षा लगायतका बिषयहरुमा सुझाव दिनु भएको थियो ।

स्वागत मन्तब्य राख्दै गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले दलीय चश्मा खोलेर समृद्ध राक्सिराङ निर्माणका लागि अब जोशिएर लाग्नुपर्ने आवश्यकता औल्याउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here