मनहरी–जेठ २६ गते । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले सहकारीको माध्यमबाट सयौँ मानिसहरुको जीविकोपार्जन चलेको र आर्थिक समृद्धि भएको भन्दै प्रशंसा गर्नु भएको छ ।

साना किसान कृषि सहकारी संस्था मनहरी ८ ले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘मेरी आमाले साना किसानबाट ४ हजार रुपियाँ ऋण लिएर भैँसी किनेर पालेको र भैँसीको दूध बेचेर घर खर्च चलाएको मलाई अहिले पनि सम्झना छ ।’

उहाँले आर्थिक समृद्धिको यात्रामा सहकारीको अतुलनीय योगदान रहेको बताउनुभयो । किसान को पूर्ण परिभाषा सम्झँदै उहाँले भन्नुभयो–‘किनेर सामान नखानेहरुलाई किसान भनिन्छ, अब किनेर नखाने मात्रै होइन, उब्जाएर बेच्ने तहमा ब्यवसायिक रुपमा किसानलाई अघि बढाउनु जरुरी छ ।’ नीति तथा कार्यक्रमको तयारी भइरहँदा किसानमैत्री बजेट र कार्यक्रमलाई आफूले प्राथमिकतामा पार्ने बताउँदै अध्यक्ष कालाखेतीले सहकारीमार्फत अझै धेरै राहत, सहुलियत र आर्थिक समृद्धि भएको देख्न पाउने आशा समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष तथा सहकारीका बिशिष्ट सल्लाहकार एकराज उप्रेतीले नयाँ निर्बाचित जनप्रतिनिधिहरुलाई बधाईसहित सहकारीको विकास र अभियानमा जोड दिनु भएको थियो । त्यसैगरी उपाध्यक्ष सीता पुलामीमगरले सहकारीको माध्यमबाट महिलालाई आत्मनिर्भरताको बाटोमा लैजानका लागि भूमिका निर्बाह गर्न गाउँपालिका तयार रहेको बताउनुभयो ।

कार्यक्रममा ५ नं वडाध्यक्ष दीपेन्द्र अधिकारी, सहकारीका उपाध्यक्ष लिलाराम भट्ट लगायतले पनि मन्तब्य ब्यक्त गर्नु भएको थियो भने कार्यपालिका सदस्यहरु, वडाध्यक्षहरु, वडा सदस्यहरुको सहभागिता थियो ।

सहकारीकी अध्यक्ष बिमला कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा सहकारीका सल्लाहकारहरु, लेखा समितिका पदाधिकारी, कर्मचारीहरुको सहभागिता रहेको थियो । स्थानीय तह निर्बाचनमा निर्वाचित सबै जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो भने सहकारीमार्फत पशु बिमा गरेका किसानहरुलाई पशु क्षतिबापतको बीमा रकम समेत सो अबसरमा प्रदान गरिएको सहकारीका व्यवस्थापक ज्योति सुवेदीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here