राक्सिराङ–जेठ २५ गते । स्थानीय तहको दोस्रो चरणको निर्वाचन भएपछि राक्सिराङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठक बसेको छ । बैठकले चेपाङ जातिको उद्गम क्षेत्र मानिएको राक्सिराङ गाउँपालिकालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरी बिशेष कार्यक्रमहरु सञ्चालन गर्न संघ र प्रदेश सरकारलाई आग्रह गरेको छ ।

पहिलो बैठकको पहिलो निर्णयमै भनिएको छ–‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९९ को उपदफा २ बमोजिमको योग्यताको समेत आधारमा अति विपन्न तथा पिछडिएका चेपाङ जातिको बाहुल्य रहेको यस राक्सिराङ गाउँपालिकालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरी बिशेष कार्यक्रम सञ्चालन गरी समतामुलक, समावेशी र दिगो विकासका लागि प्रदेश सरकार र संघीय सरकारसँग अनुरोध गर्ने ।’

बैठकले यस्तो अनुरोध गरिरहँदा बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा चेपाङ बाहुल्य क्षेत्र रहेका मकवानपुर, चितवन र धादिङ जिल्लालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरी विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख भइसकेको छ ।

‘हामीले डोरमणि पौडेल मुख्यमन्त्री हुँदाताका नै यो बिषयलाई जोडदार रुपमा माग गर्दै आएका थियौँ’, गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भन्नुभयो–‘यसपटक चेपाङ संरक्षित क्षेत्रका लागि प्रदेश सरकारले सकारात्मक संकेत देखाएको छ, अब बजेटमा के गर्छ हेर्नेछौँ ।’ अध्यक्ष मल्लका अनुसार प्रदेश र संघ संरकारले चेपाङ संरक्षित क्षेत्र घोषणा गरी कार्यान्वयन भएमा भौतिक र सामाजिक विकासका थुप्रै सुधार गर्न सकिनेछ । स्थानीय तहले मात्रै पर्याप्त बजेट बिनियोजन गरी चेपाङ विकासका लागि काम गर्न नसक्ने अबस्था भएकाले माथिल्ला सरकारहरुसँग अनुरोध गर्ने निर्णय भएको उहाँको भनाई छ ।

पहिलो कार्यपालिका बैठकले राक्सिराङ गाउँपालिकामा चट्याङका कारण हुँदै आएको क्षति न्यूनिकरणका लागि लाइटिङ एरेस्टर जडान गर्न चाहनेलाई प्रति परिवार ५ हजार रुपियाँ अनुदान दिने समेत निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैलाले बताउनुभयो ।

त्यसैगरी गरिब घर पहिचान भएका अति गरिब र बिपन्न परिवारका लागि स्वास्थ्य बीमामा ७५ प्रतिशत अनुदान दिने निर्णय भएको छ । शसस्त्र द्वन्द्व र जन आन्दोलनमा घाइते, बेपत्ता र मृत्यु भएका परिवारको जीविकोपार्जनका लागि बिशेष कार्यक्रम ल्याउने, भू–उपयोग नीति कार्यान्वयन गर्ने, राक्सिराङ अस्पताललाई स्वास्थ्य बीमा सेवाको पहिलो रिफर सेन्टरको रुपमा विकास गरी अस्पतालबाटै सेवा उपलब्ध गराउने लगायतका निर्णयहरु भएका छन् ।

कार्यपालिकाको निर्वाचन सम्पन्न भएपछि पहिलोपटक बसेको कार्यपालिका बैठकमा केही नयाँ र केही पुराना अनुहारहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here