मनहरी–बैशाख २७ गते । गठबन्धनमा सामेल हुन नपाएपछि नेकपा एकीकृत समाजवादीले मनहरी गाउँपालिकामा गरेको एकल चुनावी तयारीले प्रतिस्पर्धी दलहरुको निदहराम गराएको छ ।

गठबन्धन भनिए पनि मत बदर हुने, काँग्रेस र माओवादीबीच बर्गीय दुश्मनीका कारण मत हाल्न कठिन हुने अबस्थालाई समाजवादीले अबसरको रुपमा प्रयोग गर्दैछ । त्यति मात्र नभई तत्कालीन नेकपा एमालेमा राम्रो छाप बनाएका नारायण श्रेष्ठ नै नेकपा एकीकृत समाजवादीका तर्फबाट अहिले गाउँपालिका अध्यक्षका उम्मेदवार हुनुहुन्छ ।

अत्यधिक मत रहेको वडाको तर्फबाट एकल उम्मेदवार हुनु, गठबन्धन र एमालेका तर्फबाट एउटै वडामा उम्मेदवार खडा हुनु, उपाध्यक्षमा पनि अनुभवी र भूगोल मिलाएर अर्थात हाँडीखोलातर्फबाट मनिला बिष्ट हुनुले नारायण श्रेष्ठ नेतृत्वका उम्मेदवारहरुलाई कमजोर आँक्न नमिल्ने बिश्लेषण गरिएको छ । त्यसो त मनहरी गाउँपालिका मकवानपुरका १० वटै पालिकामध्ये समाजवादीको बलियो पकड भएको पालिका पनि हो । उम्मेदवार श्रेष्ठले आफ्नो जीत सुनिश्चित भइसकेको बताउनुभयो ।

१ देखि ९ वटै वडासम्म देखिएको लहरले समाजवादीको जीत सुनिश्चित पारिसकेको उहाँले बताउनुभयो । ‘हामीसँग आधाभन्दा बढी तत्कालीन एमालेका मतदातासहित काँग्रेस, राप्रपा, माओवादी त्यागेर आएका साथीहरुको ठूलो हिस्सा छ ।’, उहाँले भन्नुभयो । मनहरी गाउँपालिकाभित्र मात्रै १७ सय जना टोल, वडा, गाउँ र जिल्ला कमिटीमा आबद्ध रही क्रियाशील रहेको उहाँको भनाई छ ।

चुनावमा होमिरहँदा लालपुर्जा र जग्गा नापीको बिषयलाई प्राथमिकताका साथ अघि सारिएको श्रेष्ठको भनाई छ । उहाँ भन्नुहुन्छ–‘गाउँपालिकाभरका सबै घरधुरीको स्वास्थ्य बीमा गरी सबैले स्वास्थ्य उपचारको सेवा सहज र निःशुल्क पाउने व्यवस्था गर्छाैं ।

त्यसैगरी मनहरी गाउँपालिकाको प्रमुख स्रोतको रुपमा गिटी बालुवको उचित व्यवस्थापन, ट्रयाक्टर ढुंगा, गिटी व्यवसायीहरुलाई काम गर्न पाउने अबसर मिलाउने गरी काम गर्ने उहाँले बताउनुभयो । ‘हामीले गफ गर्नेहरु भोग्यौँ, गफ गरेर र भाषण गरेर मात्र नहुने भन्ने पनि बुझ्यौँ’, श्रेष्ठले भन्नुभयो–‘विदेश जाने युवाहरुलाई गाउँमै रोक्नेगरी स्वरोजगारमुखी बनाउने र आर्थिक, सामाजिक, राजनीतिक विकासमा युवालाई अबसर दिने वातावरण बनाउने गरी घोषणा पनि सार्बजनिक गरेका छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here