मनहरी–बैशाख २७ गते । नेपाली काँग्रेस मनहरी गाउँपालिका ९ का वडा सचिव शिवराज गिरीमाथि कुटपिट भएको घटनाको काँग्रेसले भत्र्सना गरेको छ ।
सोमबार राति नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार लक्ष्मण उप्रेतीका दाई नवीन उप्रेती, कृष्ण उप्रेती, ठाकुर अधिकारी लगायतले गिरीलाई हातपात गरेको काँग्रेसले जनाएको छ । आफूलाई कठालो समातेर घोक्र्याइएको र कानमा असर पर्ने गरी कुटपिट गरिएको गिरीले बताउनुभयो ।
नेपाली काँग्रेसले मनहरीमा पत्रकरा सम्मेलन गरी घटनाको दोषीलाई कारबाही हुनुपर्ने जनाएको छ । काँग्रेसले कुटपिट घटनाका दोषीहरुलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय मनहरीमा अभद्र व्यवहार मुद्दा दर्ता गरेको काँग्रेस मनहरीका सभापति प्रकाश बर्ताैलाले बताउनुभयो । प्रहरी कार्यालयमा ७६ नं. मा मुद्दा दर्ता गरिएको जनाउँदै काँग्रेसले मध्यरातमा घरघरै पुगेर काँग्रेस कार्यकर्तामाथि भएको हातपातको घटनाले निर्बाचनबाट एमाले पराजित मानसिकतामा पुगेको देखिएको सभापति बर्ताैलाको भनाई छ । ‘
आर्थिक दबाबले मात्रै नसकेपछि मनोवैज्ञानिक रुपमा मतदातालाई त्रसित पार्ने उद्देश्य एमालेको रहेछ’, बर्ताैलाले पत्रकार सम्मेलनमा भन्नुभयो–‘उहाँहरुले जस्तै मान्छे कुट्दै हिँड्ने हो भने हामी पनि कमजोर छैनौँ ।’ न्यायका लागि सम्बन्धित निकायमा गुहार माग्ने काम भएको भन्दै उहाँले एकातर्फी रुपमा काँग्रेसले कुटाइ खाएरै हिँडिरहनुपर्ने भन्ने कसैले सोचेको छ भने भ्रममा नपर्न सम्बन्धित सबैलाई चेतावनी दिनुभयो ।
‘हामी न्याय, प्रशासन, अदालत, कानून मान्छौँ’, सभापति बर्ताैलाको भनाई छ–‘होस गुमाएका छैनौँ, सयौँ तरुण सदस्यहरुलाई थमाएर राखेका छौँ ।’ उचित न्याय नपाए ज्यामिरे घटनाले दुर्घटना निम्त्याउन सक्ने भन्दै बर्ताैलाले काँग्रेस होस हवासमै रहेको र एमाले झैँ होस गुमाएको खण्डमा त्यसले निम्त्याउने दुर्घटनाको भागिदार एमाले पार्टी हुनुपर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा काँग्रेस निर्वाचन परिचालन संयोजक भरत पराजुली, ९ नं वडाध्यक्ष उम्मेदवार राजकुमार श्रेष्ठसहित तरुण नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।