मनहरी–बैशाख २३ गते । साबिकको दुई ठूला गाउँ विकास समितिहरु हाँडीखोला र मनहरीलाई गाभेर निर्माण गरिएको मनहरी गाउँपालिकाभित्र क्षेत्रीयताको सबाल उठ्न थालेको छ ।

पाँच बर्षअघि राप्तीखोला पारिपटि रहेको हाँडीखोला र राप्तीवारि मनहरी गाउँ विकास समितिलाई गाभेर बनेको बनाइएको पालिकालाई ‘मनहरी’ नामाकरण गरिएको थियो । पालिकाको नाम मनहरी राखेर प्रशासनिक केन्द्र पनि मनहरीकै भूगोलमा राख्ने निधो भएको थियो । सोही बमोजिम अहिले मनहरी गाउँपालिका वडा नं ९ रजैयामा गाउँपालिकाको कार्यपालिका चलिरहेको छ ।

नयाँ संविधान बनेपछिको पहिलो स्थानीय तह निर्वाचन भएर पाँच बर्ष कार्याकाल गुजारिरहँदा साबिक हाँडीखोला अर्थात राप्तीभन्दा पारिपटि रहेको भूगोलले क्षेत्रीय हिसाबले कार्य सम्पादन र राजनीतिक नेतृत्वको समिक्षा गर्न थालेको छ । कारण हो–साबिक हाँडीखोलातर्फको विकास र नेतृत्वमा पहुँच बृद्धि नहुनू ।

नाम उल्लेख गर्न नचाहने एक राजनीतिक कार्यकर्ताले पाँच बर्षे अबधिमा साबिक हाँडीखोला क्षेत्रलाई पछि पार्नेगरी काम भएको गुनासो गर्नुभयो । ‘साबिक हाँडीखोला तर्फ मात्रै ५ वटा वडाहरु छन्’, उहाँ भन्नुहुन्छ–‘मनहरीतर्फ जम्मा ४ वटा मात्रै वडा छन्, तैपनि बजेट निर्माण, नेतृत्वमा अबसर लगायतका कुराहरुमा मनहरी मात्रै अघि सरेको देखिएको छ ।’

त्यसो त साबिक मनहरीतर्फ गिटी, बालुवा उत्खनन् र निकासीको स्रोत रहेकाले स्वाभाविक रुपमा राजश्व बढी संकलन हुने गर्छ । पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने हाँडीखोलाका कतिपय बस्तीहरु मनहरीभन्दा पनि दुर दराजका छन् । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायत क्षेत्रमा हाँडीखोला क्षेत्रलाई पछाडि पारिएको हाँडीखोलाबासीले अनुभूत गरेको ती कार्यकर्ता बताउँछन् ।

नाम, प्रशासनिक भवन र मूल नेतृत्व नै मनहरीतर्फ पुगेको हाँडीखोलाबासीलाई त्यस्तो लाग्नु स्वाभाविक मानिएको छ । किनकी पहिलो निर्वाचनबाट निर्वाचित अध्यक्ष एकराज उप्रेती नै मनहरीतर्फका हुनुहुन्थ्यो । उपाध्यक्ष मनिला बिष्ट हाँडीखोलातर्फको हुनुहुन्थ्यो ।
स्थानीय सरकारमार्फत घरघरमै सिंहदरबार आइरहेको दाबी भइरहँदा हाँडीखोलाबासी असजिलो गरी मनहरीको नेतृत्वलाई स्वीकार गरेको अनुभूत सबै राजनीतिक पार्टीहरुमा हुन थालेको छ । कतिपयले त हाँडीखोलातर्फका वडाहरुलाई हेटौँडा उपमहानगरपालिकातर्फ नै गाभ्नुपर्ने समेत तर्क गर्न थालेका छन् ।

तर, हालका लागि त्यो बहस पनि चियागफमै सीमित छ । यद्यपि, मनहरी गाउँपालिकाले निर्माण थालेको ५ वटा पक्की पुल र लामिटार हुँदै मकरीसम्मको बाइपास सडक निर्माण सम्पन्न भएमा हाँडीखोलातर्फको भौतिक विकास देखिन सक्छ । तर, पाँच बर्षे अबधिमा ती कामहरु सम्पन्न गर्न नेतृत्वले नसकेको तीतो यथार्थ मनहरीबासीसँग छ ।

अहिले मनहरी गाउँपालिकाको मूल नेतृत्व हाँडीखोलातर्फले गर्न पाउनुपर्ने भन्दै स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक पार्टी र गठबन्धनबीच द्वन्द्व समेत दबाब सिर्जना भएको थियो । तर जतिसुकै दबाब सिर्जना गरिए पनि हाँडीखोलातर्फका नेताहरुले मनहरीको नेतृत्व पाउन अझै पाँच बर्ष पर्खनुपर्नेछ । किनकी, एमाले, काँग्रेस, समाजवादी र राप्रपा सबैले मनहरीतर्फबाटै अध्यक्षको उम्मेदवार खडा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here