मनहरी–बैशाख २२ गते । मनहरी गाउँपालिकाको सबैभन्दा आकर्षक र महत्व बोकेको ७ नं वडामा नेकपा एकीकृत समाजवादी एक्लै चुनावी प्रतिस्पर्धामा छ । दिवस स्याङ्तान (बलराम) वडाध्यक्षको उम्मेदवार हुनुहुन्छ भने महिला सदस्य अम्बिका प्रजा, दलित महिला सदस्य तुल्सीमाया कामी, खुला सदस्य रामबहादुर परियार र लालबहादुर वि.क. रहनु भएको छ ।

स्याङ्तान नेतृत्वको प्यानलले ३४ वटा बुँदा समेटिएको योजना सार्बजनिक गरी मतदाताहरुलाई मतदानका लागि अपिल गरेको छ । सार्बजनिक भएको योजनाको पहिलो बुँदामै समान अनुपातमा विकास गरिने र कुनै टोललाई काखा र कुनै टोललाई पाखा नगरी विकास गर्ने प्रतिबद्धता जनाइएको छ । त्यसैगरी राजनीतिक आग्रह र पूर्वाग्रहबाट प्रभावित नभई चुनावमा हार भइएछ भने पनि ३४ वटा बुँदाको कार्यान्वयनका लागि सदैब लागिपर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सार्बजनिक भएका बुँदाहरुबारे जानकारी दिँदै वडाध्यक्षका उम्मेदवार स्याङ्तानले मनहरी बजार प्याङ्चे क्षेत्रबाट आउने पहिरोबाट जोखिम रहेकाले मनहरी बजारलाई जोगाउन ड्याम तथा बृक्षरोपण लगायतका उपायहरु अवलम्बन गरिने बताउनुभयो । त्यसैगरी गणेशधारा क्षेत्रबाट मनहरी खोलाको प्रबाह प्याङ्चेका ढिस्का र रिभरसाइडमा कटान हुने गरी बग्ने गरेकाले रिभरसाइड क्षेत्र बचाउन चेक ड्यामको व्यवस्थापनमा आफूले ध्यान दिने उहाँले बताउनुभयो ।

मनहरीमा बितरित महँगो खानेपानी शुल्कलाई ५० प्रतिशत घटाइने, हिउँद यामका लागि कैलाश र राक्सिराङ पुग्ने सवारी साधनहरुलाई उचित ‘सिजनेवल बसपार्क’ निर्माण गरी व्यवस्था मिलाउने, रमौली प्रतापपुरमा लज तथा रेष्टुरेन्टहरु स्थापनाका लागि प्रोत्साहित गरी ‘मिनी सौराह’ को अबधारणालाई कार्यान्वयनमा ल्याइने, सबै शाखा बाटोहरु कालोपत्रे गर्ने, सडकमा सोलार बत्ती र सिसि क्यामेराको व्यवस्थापन गर्ने, मनहरी बजारमा अटो र बसहरुको पार्किङ समस्याको व्यवस्थापन गर्ने, मनकामना मन्दिर, नुरी जामे मस्जिद, सांग छोइफेल गुम्बा, कृष्ण मन्दिर लगायत धार्मिक प्रतिष्ठानहरुको विकास गर्ने लगायतका योजनाहरु सार्बजनिक भएको छ ।

त्यसैगरी लामाबस्ती र निर्मल बस्तीमा खानेपानी सेवा बिस्तार गर्ने, रमौली, बिजौना, रमन्टार क्षेत्रमा बाटोहरु पु¥याउने, रोटरी माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाको लागि पहल गर्ने, वडाको सुरक्षार्थ प्रहरी र नगर प्रहरीको व्यवस्था गरी आपसी समन्वय गर्ने, बोटे समुदायको निःशुल्क बीमा गर्ने, बन्यजन्तुको आक्रमणबाट बच्नका लागि उपायको खोजी गर्ने, मनहरी बजारको बढ्दो भीडलाई मध्यनजर गरी आकासे पुलको अबधारणालाई पनि अघि बढाउने गरी योजनाहरु निर्माण भएको वडाध्यक्षका उम्मेदवार स्याङ्तानले जानकारी दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी) ले मनहरी गाउँपालिकामा अध्यक्ष नारायण श्रेष्ठ र उपाध्यक्ष मनिला बिष्टलाई अघि सार्दै पालिकाभर एकल चुनावमा होमिएको छ । वडा नं २ र ८ बाहेक अन्यत्र सबै वडाहरुमा उम्मेदवारी रहेको पार्टीका सचिव ओम आले मगरले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here