मनहरी–बैशाख १७ गते । मनहरीमा सत्ताधारी गठबन्धनबाट रुष्ट भएका ‘बागी’ उम्मेदवारलाई जिल्ला नेतृत्वकै पहलमा मत्थर पारिएको छ ।

नेपाली काँग्रेसबाट असन्तुष्ट भई नेपाली काँग्रेस (बिपी) को तर्फबाट उपाध्यक्ष बन्नु भएकी जानुकी लामा र नेकपा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार बन्नु भएका रामप्रसाद कालाखेतीलाई उम्मेदवारी फिर्ता गर्ने अन्तिम समयसम्म पार्टीले फिर्ता लिन भनेको थियो । तर, दुबै जनाले अटेर गरी फिर्ता नलिएपछि शनिबार रजैयामा भएको बैठकमा उम्मेदवारी व्यवहारिक रुपमा निष्क्रिय बनाउने सहमति जुटेको हो ।

नेकपा माओवादी केन्द्रकी मकवानपुर इन्चार्ज कुमारी मोक्तान, काँग्रेस जिल्ला सभापति बुद्ध लामा, सचिव भीमसेन महतसहित उम्मेदवारहरुको उपस्थितिमा भएको बैठकले गठबन्धनकै पक्षमा ‘बागी उम्मेदवार’ ले पनि मत माग्ने र सहयोग गर्ने सहमति बनेको माओवादी केन्द्र मनहरीका सचिव एबम् ३ नं वडाध्यक्ष उम्मेदवार सञ्जीव पाठकले बताउनुभयो । ‘कानूनी रुपमा उम्मेदवारी फिर्ता लिन मिल्ने ठाउँ रहेन’, पाठकले भन्नुभयो–‘गठबन्धनको बिपक्षमा नउभिने र बिरोधीलाई सघाउ पुग्ने गतिविधि नगर्नेगरी सहमति गरिएको छ ।’

बैठकमा बागी उम्मेदवारहरु कालाखेती र लामासहित मनहरी गाउँपालिका अध्यक्षका उम्मेदवार रन्जन कालाखेती, उपाध्यक्षकी उम्मेदवार सीता पुलामी (रेखा), काँग्रेस सभापति प्रकाश बर्ताैला, माओवादी नेताहरु बीरबहादुर घलान (ज्वाला), ओमबहादुर ग्लान (प्रदीप), रामहरि सुवेदी लगायतको सहभागिता रहेको थियो ।

मनहरीमा शंकर न्यौपानेले टिकट पाउनुपर्ने भन्दै नेपाली काँग्रेसमा फुट आएको थियो । अन्याय गरिएको भन्दै नेपाली काँग्रेस (बिपी) को तर्फबाट करुवा चुनाव चिन्ह लिएर न्यौपाने र उपाध्यक्ष पदमा लामाले उम्मेदवारी दिनु भएको थियो । न्यौपानेले समयसीमाभित्रै उम्मेदवारी फिर्ता लिनु भएको थियो भने लामा सम्पर्कमै आउनु भएको थिएन । लामाको उम्मेदवारी फिर्ता नभएपछि माओवादीका अध्यक्ष समेत रहनु भएका कालाखेतीले पनि उम्मेदवारी फिर्ता नलिनु भएको बताइएको छ ।

काँग्रेसमा आएको फुट र बढ्दै गएको नेकपा (एकीकृत समाजवादी) को लहरका कारण नेकपा एमालेका पुरानै उम्मेदवार एकराज उप्रेतीको टिमल जीत हासिल गर्ने आँकलन गरी गठबन्धनले ‘बागी उम्मेदवार’ को व्यवस्थापन गरेको बताइएको छ । गठबन्धन बलियो भएसँगै अब नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी) र गठबन्धनबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । मनहरीमा नेकपा (एकीकृत समाजवादी) बाहेक सत्तागठबन्धन निर्माण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here