मनहरी–बैशाख ११ गते । केपी ओलीले संविधानमै नभएको धारा प्रयोग गरेर दुई पटक संसद बिघटन गरेर आफूलाई शक्तिशाली सिद्ध गर्न खोजेपछि बनेको काँग्रेस–कम्युनिष्ट गठबन्धनभित्र अनेक शंका, उपशंका र स्वार्थकेन्द्रित दृष्टिकोण हाबी हुन थालेको छ ।

गठबन्धनले संघीय सरकार निर्माण गर्नका लागि अदालतमार्फत परमादेश समेत प्राप्त गरी मार्ग प्रशस्त गर्दै प्रदेश सरकार समेत बनायो । तर, सबैभन्दा आधारभूत र प्रभावी मानिएको स्थानीय तहको निर्बाचन भने गठबन्धनका घटकहरुलाई टोक्नु न बोक्नु हुँदै गएको छ । पश्चिम मकवानपुरको मनहरी, कैलाश र राक्सिराङका कम्युनिष्ट घटकहरु त झन् प्रकाश सपुतको गीत ‘तिम्रो मायाले मलाई पीर दियो’ भन्ने गीत गाउन सुहाउने अबस्थामा पुगेका छन् ।

बैशाख ११ गतेबाट सुरु भएको मनोनयन दर्ता प्रक्रिया अब एक दिनमात्रै बाँकी रहँदा गठबन्धनका बागमती प्रदेश तहका नेताहरु इन्द्रबहादुर बानियाँ (काँग्रेस), सरल सहयात्री (माओवादी केन्द्र) र केदार न्यौपाने (नेकपा एकीकृत समाजवादी) का हस्ताक्षरयुक्त कागज बाहिरियो । उक्त कागज अनुसार मनहरी, राक्सिराङ र कैलाश तीनैवटा गाउँपालिकामा अध्यक्ष काँग्रेसको रहने उल्लेख छ भने माओवादी तीनैवटामा उपाध्यक्ष रहने उल्लेख छ ।

यो गठबन्धनले उच्च पहाडी क्षेत्रको कैलाशको चुचुरोदेखि हाँडीखोलाको भिमान क्षेत्रसम्म काँग्रेस नेतृत्वमा सरकार र दबादबा रहने निश्चित हुने देखायो । यस्तो सूचना बाहिरिएपछि नेकपा माओवादी त रिसायो नै, त्यसभन्दा बढी नेकपा एकीकृत समाजवादी रिसाएको छ । मनहरी गाउँपालिकामा एकीकृत समाजवादीले एकल हिसाबले ९ वटै वडामार्फत ४७ वटै पदमा उम्मेदवारी दिने तयारी गरेको छ । उसले यसअघि नै एकल हिसाबले निर्बाचन जित्ने दाबी गर्दै आएपनि गठबन्धनका दलहरुले पत्याएको छैन ।

गठबन्धन बैठकमा आफ्नोतर्फबाट ५९ सय मत प्राप्त हुने रिपोर्ट दिएको समाजवादीसँग ३ हजार बढी मत रहेको आँकलन गरिएको छ । १७ सय जनालाई टोल, वडा, गाउँ र जिल्ला कमिटीमै राखेर काम लगाइएको समाजवादीको दाबी छ । समाजवादीसँगै माओवादी पनि मनहरीमा रिसाएको छ । अध्यक्ष पाउने दाउमा रहेको माओवादीले मनहरीको नेतृत्व बैशाख १० गते साँझदेखि ११ बजे बिहानसम्म पाएको थियो । त्यसपछि पुनः काँग्रेसकै नाम अगाडि आयो ।

यता राक्सिराङमा माओवादी केन्द्र सबैभन्दा बढी रिसाएको छ । उसको रिसमा समाजवादी पनि थपिएको छ । माओवादीले बिगतमा काँग्रेसले जितेको १ नं, २ नं मा चुनाव जित्ने, ३ नं मा सम्मानजनक मत ल्याउने, ४, ५ र ६, ८ र ९ मा समेत बलियो उपस्थिति जनाएकाले जनमत बिजायोन्मुख रहेको बताएको छ । त्यसैले केन्द्रीय गठबन्धन भएपनि नमान्ने भन्दै राक्सिराङ माओवादी अघि बढिरहेको छ ।

गठबन्धनमा आबद्ध रहेकाले सम्बन्धित दलहरुले टिकट नदिएपनि स्वतन्त्र रुपमा प्यानल निर्माण गरी अघि बढ्ने तयारी माओवादीले गरेको स्रोतले बताएको छ । कैलाशमा पनि त्यस्तै छ । माओवादी सन्तुष्ट छैन । माओवादी र समाजवादी तथा एमालेका असन्तुष्टहरु समेत मिलेर अघि बढ्ने गरी केही तयारी भएको बताइएको छ ।

यसरी पश्चिम मकवानपुरमा गठबन्धनलाई टिकाउन र जिताउन मुश्किल पर्ने अबस्था सिर्जना भइरहेको छ । यद्यपि, जिल्ला र प्रदेशका नेताहरुले गर्ने राजनीतिक व्यवहार र राजनीतिक कार्यक्रमहरुले कार्यकर्ताको मनमा परेको ‘पीर’ को निबारण गर्न सक्ने वा नसक्ने हेर्न बाँकी नैछ ।

खानी र खोलाजति काँग्रेसलाई !
पश्चिम मकवानपुरको कैराम अर्थात कैलाश, राक्सिराङ, मनहरीमा काँग्रेसले नेतृत्व किन पायो ? यसको सट्टा अरु गाउँपालिकाहरु किन काँग्रेसले लिएन ? यसबारे पनि बहस सुरु हुन थालेको छ ।

मनहरी प्रदेशकै सबैभन्दा बढी गिटी बालुवाको राजश्व उठ्ने गाउँपालिका हो । त्यसैले यहाँ काँग्रेसले आँखा गाडेको पहिल्यैदेखि नै हो । एमाले नेतृत्वमा गाउँपालिका अघि बढिरहँदा यहाँको गिटी बालुवाको व्यवस्थापन गर्न र युवालाई गिटीबालुवामा आश्रित गराउन एमाले पूर्णतयाः असफल नै रहेको छ । काँग्रेसले मनहरी गाउँपालिका पाएमा गिटी बालुवाको सहज उत्खनन् र व्यवस्थित गर्ने दाबी गर्दै आएको छ ।

राक्सिराङ काँग्रेसले नै जितेको गाउँपालिका हो । स्वाभाविक रुपमा काँग्रेसको दाबी त्यहाँ हुने नै भयो । त्यसैगरी त्यहाँ काँग्रेसले दाबी गर्ने अर्काे कारण छ–रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानी । यो खानी चलाएर सयौँको रोजगारी, ठेकेदारी र राजश्व संकलन गर्न सकिन्छ भन्ने विश्वास काँग्रेसलाई छ ।

त्यसैगरी कैलाश गाउँपालिका सिमेन्टको खानी भएको अर्काे गाउँपालिका हो । जहाँ लालीगुराँश सिमेन्ट उद्योगको खानी छ । त्यता पनि काँग्रेसले आँखा लगाएको छ । त्यहाँबाट प्राप्त हुने रोजगारी, स्थानीय अबसरहरु, राजश्व संकलन लगायतका कुराहरुमा काँग्रेसको ध्यान गएको छ । यी र यस्ता कुराहरुले व्यवसायीहरुको बाहुल्यता रहेको पार्टी काँग्रेसले कैराममा आँखा लगाएको छ ।

बानियाँको जग बलियो बनाइँदै
इन्द्रबहादुर बानियाँ छोटै समयमा मकवानपुरबाट उदय भई राष्ट्रिय रुपमा चर्चामा आउन सफल काँग्रेस नेता हुन् । तत्कालीन बामगठबन्धनका उम्मेदवारलाई पराजित गर्ने देशभरका निश्चित नेतामा नाम दर्ज गर्नु भएको बानियाँको क्षेत्र पनि कैराम नै हो ।

यहाँ चुनाव लड्न आउँदा धेरैले बानियाँलाई पाहूना भने । हुन पनि हो, पूर्वी मकवानपुरबाट एकैपटक पश्चिम मकवानपुर आएर छापामार शैलीमा कम्युनिष्टको गढ मानिएको क्षेत्रमा उहाँले छापामार शैलीमा जीत हासिल गर्नुभयो । अब धेरैलाई के लागेको छ भने फेरि बानियाँ पूर्वतिरै फर्कन्छन् ।

तर, अहिले स्थानीय तहमा तीनवटा गाउँपालिकामा काँग्रेसलाई नेतृत्व गर्न लगाएपछि बानियाँको पश्चिमतिरकै क्षेत्रमा राजनीतिक रुपमा टिकिरहने सोच पलाएको हुनसक्ने अनुमान गरिएको छ । मकवानपुर क्षेत्र नं २ को प्रदेश सभामा हेटौँडा ३ र १९ तथा कैराम र संघीय क्षेत्रमा थाहा नगरपालिकासहित भीमफेदी, मकवानपुरगढी र हेटौँडाका केही भाग जोडिएको छ ।

तीनवटा गाउँपालिकालाई बलियो बनाउने र थाहालाई पनि प्रभाव पारेर भविष्यमा संघीय क्षेत्रकै उम्मेदवार बन्ने सपना बानियाँको रहेको हुनसक्ने अनुमान गरिएको छ । त्यसो हुँदा लामो समय यस क्षेत्र राज गरिरहनु भएको कम्युनिष्ट नेता एबम् हाल नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य बिरोध खतिवडालाई नै हानी हुन देखिएको छ ।

‘बानियाँको दीर्घकालीन रणनीतिक योजना बमोजिम कैराम लिएर आजैबाट त्यो क्रम सुरु गरिएको त होइन ?’, एक राजनीतिक विश्लेषकले भन्नुभयो । ती बिश्लेषकले समाजवादीले प्रतिरोध गर्ने हैसियत प्राप्त नगरे पनि गठबन्धनमा भएको ‘बानियाँकरण’को बिरोध माओवादीले गर्न नसकेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here