मनहरी–बैशाख ९ गते । नेकपा एकीकृत समाजवादीका तर्फबाट मनहरी गाउँपालिका ७ नं वडाको अध्यक्षका रुपमा आगामी स्थानीय तहको निर्वाचनमा दिवश स्याङ्तान (बलराम) लाई अघि बढाएको छ ।

मनहरी ७ माथिल्लो बजार निबासी स्याङ्तान नेकपा एकीकृत समाजवादीका गाउँ कमिटी सदस्य तथा युवा संघ नेपाल मकवानपुरको सचिवालय सदस्य समेत हुनुहुन्छ । दलहरुले युवालाई काम गर्ने अबसर नदिने गरेको अबस्थामा नेकपा एकीकृत समाजवादीले आफूलाई योग्य ठानेर जिम्मेवारी दिएकामा स्याङ्तानले खुसी ब्यक्त गर्नुभयो ।

‘सँधै पुराना मान्छेहरु भन्दै युवालाई पन्छाउने काम हुने गरेको थियो’, स्याङ्तानले भन्नुभयो–‘यसपटक मजस्ता सचेत युवालाई अघि सार्नु राम्रो पक्ष हो ।’ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा मिलेर गठबन्धन गरी चुनावमा जाने तयारी भइरहँदा आफूलाई ७ नं वडाको वडाध्यक्षमा पार्टीले अघि सारेको भन्दै स्याङ्तानले गठबन्धनको निर्णय स्वीकार गर्ने बताउनुभयो ।

उहाँले गठबन्धनमा सम्मानजनक व्यवहार हुने अपेक्षा राख्दै आफूले नेतृत्व गर्न पाएको खण्डमा ७ नं वडाको विकासको भिजन आफूसँग रहेको दाबी गर्नुभयो । ‘म केही पढेर स्वदेशमा सहज ढंगले रोजगारी सिर्जना हुन नसकी विदेश समेत पुगेर काम गरी फर्केको युवा हुँ’, स्याङ्तानको भनाई छ–‘विदेशको अनुभव र स्वदेशको आवश्यकतालाई समेत समेटेर म अघि बढ्नेछु ।’

मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाको मूल ढोका नै ७ नं वडाको मनहरी बजार क्षेत्र रहेकाले मनहरी बजारको व्यवस्थापन, सडक किनारमा बगैचा बिस्तार, कैलाश र राक्सिराङ गाउँपालिका पुग्ने बसको व्यवस्थापनका लागि बसपार्क निर्माण, सरकारी र सामुदायिक भौतिक संरचनाहरु ७ नं वडामै निर्माण गर्ने, बजारलाई स्वच्छ, हराभरा बनाउने, ढलको व्यवस्थापन र सोलार सिस्टमको उपयोग गरी सडक बत्तीको व्यवस्थापन गर्ने लगायतका योजनाहरु आफूसँग रहेको स्याङ्तानले बताउनुभयो ।

त्यसैगरी रमौली, प्रतापपुर, बिजौना, रमन्टार, निर्मल बस्ती, लामाबस्ती, प्याङ्चे, गुम्बाटोल, रिभरसाइड, शान्ति टोलसहित सबै स्थानहरुमा खानेपानी, सडकको व्यवस्थापनसहित भूमि अधिकारको लागि लालपुर्जाको पहल गर्ने समेत योजना रहेको उहाँको भनाई छ ।

आफू आबद्ध पार्टी २०७८ को भदौमा मात्र दर्ता भई बनेको हुनाले अहिले सांगठनिक कामहरु बिस्तारै अघि बढिरहेको र हाल गठबन्धन गरेर अघि बढेपनि आगामी त्यसपछि एकल हिसाबले जाने गरी आधारभूत तहमा संरचना र संगठन निर्माणको काम भइरहेका उहाँले बताउनुभयो । ‘हामी विधि, पद्धति र प्रक्रियाहरु मिचेर हिँड्नेहरुका विरुद्ध बिद्रोह गरी आएका क्रान्तिकारीहरु हौँ’, स्याङ्तानले भन्नुभयो–हामीसँग विकासको दृष्टिकोणसहित अनुभवसहितका पुराना नेतृत्वदायी नेताहरु साथमा हुनुहन्छ ।’

गठबन्धन गर्ने नाउँमा सबै कुरा गुमाउन नसकिने र सम्मान जनक अबस्था नभए एकलै पनि चुनाव लड्ने गरी ७ नं वडामा नेकपा एकीकृत समाजवादीले आधार तयार गरिसकेको उहाँको भनाई छ । तर, सकेसम्म गठबन्धन नै गरेर केन्द्रीय सर्कुलरलाई मान्ने र संविधानबिरोधी पार्टीका उम्मेदवारहरुलाई परास्त पार्ने योजना लिएर अघि बढेको उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here