मनहरी–बैशाख १ गते । नेकपा एमाले र नेकपा एमालेसँग छुट्टिएर बनेका नेकपा एकीकृत समाजवादीका तर्फबाट आगामी स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिका अध्यक्षका लागि ९ जनाको नाम जिल्ला कमिटीमा पठाइएको छ ।

नेकपा एमालेले हालका अध्यक्ष एबम् पार्टीका प्रदेश कमिटी सदस्य एकराज उप्रेती, अर्का प्रदेश कमिटी सदस्य श्याम ढकाल, गाउँपालिका कमिटी अध्यक्ष नवीन सुवेदी, पूर्व जिल्ला कमिटी सदस्य जयराम अर्याल र ८ नं वडाका वडाध्यक्ष दिलबहादुर स्याङ्तानको नाम सिफारिस गरेको छ । सर्बसहमतिमा अध्यक्ष छान्न नसकेपछि २ दिन पर्खेर सहमतिको प्रयास भएको थियो । तर, सहमति हुन नसकेपछि पाँच जनाको नाम सिफारिस गरिएको बताइएको छ ।

तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा पाँच जना भएपछि मतदान प्रक्रियामा नगई सोलोमोलो ढंगले पुरानै अनुहार पठाइएको भन्दै एमाले कार्यकर्ताहरुले निराश ब्यक्त गर्न थालेका छन् । उपाध्यक्षमा हालका कार्यपालिका सदस्यद्वय गीता प्रजा र पम्फा रोक्का, पार्टीकी जिल्ला कमिटी सदस्य बिमला कार्की तथा विद्यार्थी नेता सुजिता थिङलाई सिफारिस गरिएको छ ।

यता एमालेबाट छुट्टिएर २०७८ भदौमा स्थापना भएको नेकपा एकीकृत समाजवादीले पनि ४ जनालाई अध्यक्षको प्रत्यासीको रुपमा जिल्लामा नाम पठाउने निक्र्याैल गरेको छ । हालकी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, ९ नं वडाध्यक्ष साधुराम अधिकारी पार्टीको जिल्ला सचिवालय सदस्य बीरेन्द्र डिसी र गाउँ कमिटी अध्यक्ष नारायण श्रेष्ठको नाम अध्यक्षका लागि सिफारिस गरिएको हो ।

उपाध्यक्षहरुमा जिल्ला सचिवालय सदस्य तथा मनहरी इन्चार्ज भूमिनन्द अर्याल, जिल्ला सचिवालय सदस्य रामकुमार एलन र चन्द्राकुमारी भुसाल र गाउँ कमिटी उपाध्यक्ष आशा बललाई सिफारिस गरिएको छ ।

काँग्रेस, माओवादी र राप्रपा लगायत दलहरुले उम्मेदवारको आन्तरिक तयारी थालेका जनाएपनि पर्याप्त छलफल र निर्णय नभइसकेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here