कैलाश–चैत २६ गते । मकवानपुरको उत्तर पश्चिम क्षेत्रस्थित कैलाश गाउँपालिकामा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेतृत्व लिन नेकपा माओवादी केन्द्रका कैलाश गाउँ कमिटीका सचिव कमल अर्यालले पनि इच्छा ब्यक्त गर्नु भएको छ ।

यसअघि कैलाश गाउँपालिका कमिटी अध्यक्ष समेत रहनु भएका बालकुमार मल्ललाई स्थानीय तहका निर्बाचनमा एकल अध्यक्ष उम्मेदवार बनाउने निर्णय भएको थियो । तर, कमिटीका सचिव अर्यालले पार्टी एकल निर्वाचनमा जाँदा अध्यक्ष मल्लको बिकल्प नरहेको बताउँदै गठबन्धन भएर चुनावमा जाँदा आफू नेतृत्व गर्न तयार रहेको बताउनुभयो । मनहरीलाइभ सँग कुराकानी गर्दै उहाँले भन्नुभयो–‘एकल चुनावमा जाँदा अध्यक्ष कमरेडलाई हामीले अघि बढाएका हौँ, गठबन्धन भएर जाँदा प्राप्त हुने अध्यक्ष वा उपाध्यक्ष जुनसुकै कोटाको नेतृत्व मैले नै गर्न चाहेको हुँ ।’

योङ कम्युनिष्ट लिगका बागमती प्रदेश कमिटी सदस्य समेत रहेका अर्यालले युद्धकालीन कार्यकर्ताको रुपमा आफूले पार्टीलाई सँधै साथ दिएर अघि बढेको र जटिल परिस्थितिहरुमा समेत उभिएको तर्क गर्दै भने–‘युवाको नेतृत्व स्थापित हुनुपर्छ र भूगोलमा रहेका राजनीति गर्नेहरुको मूल्याङ्कन हुनुपर्छ भन्ने आवाज हाम्रो पार्टीमा तीब्र रुपमा उठेको छ ।’

अर्यालले गठबन्धन गरेर जाँदा ओली प्रबृत्तिलाई परास्त गर्न सकिने समेत सुनाउनु भयो । माओवादीका तत्कालीन उम्मेदवार समेत रहेका केही मानिसहरु एमाले प्रबेश गरेपनि माओवादीको वजन कैलाश गाउँपालिकाम नघटेको दाबी गर्दै नेता अर्यालले आगामी निर्वाचनबाट संघीयताको कार्यान्वयनसहित शिक्षा, स्वास्थ्य जस्ता आधारभूत बिषयलाई जनतामुखी बनाएर अघि बढ्न आफूहरु सदैब तयार रहेको बताउनुभयो ।

उहाँले गठबन्धन नभए पनि माओवादी पार्टी एकल हिसाबमा निर्वाचनमा जाने अबस्थामा रहेको दाबी गर्नुभयो । ‘हिँजोका दिनमा पनि हामी एक्लै एक्लै लडेकै थियौँ, आज पनि परिस्थिति प्रतिकूल छैन’, उहाँले भन्नुभयो–‘ओली प्रबत्तिको अन्त्यका लागि गठबन्धन राष्ट्रिय रुपमा आएको राजनीतिक कार्यक्रम भएकाले हामीले आत्मसात गरेर जानुपर्छ, अन्यथा एक्लै निर्वाचनमा होमिनुपर्ने कुराबाट हामी डराएका छैनौँ ।’

१० वटा वडा रहेको कैलाश गाउँपालिकामा २०७४ साल बैशाख ३१ गते भएको निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडामा जीत हासिल भएको थियो भने नेपाली काँग्रेसले ४ वटा वडा र माओवादी केन्द्रले २ वटा वडामा बिजय हुने अबसर पाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here