मनहरी–चैत २४ गते । मनहरी गाउँपालिकाले टाइफाइड बिरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारी बनाउन सबै तयारी पूरा गरेको जनाएको छ ।

पत्रकार भेटघाट कार्यक्रम गर्दै मनहरी गाउँपालिका स्वास्थ्य शाखाले १४ हजार १ सय २४ जना बालबालिकालाई चैत २५ देखि ३० गतेसम्म टाइफाइडबिरुद्धको खोप लगाउने तयारी पूरा भएको जनाएको हो ।

खोप अभियानका प्रवक्ता समेत रहनु भएका ज्योतिराज लुइटेलले ४९ वटा स्थानमा ६० वटा खोप केन्द्र निर्धारण गरी खोप लगाउने व्यवस्था मिलाइएको बताउनुभयो । ९० जना स्वास्थ्यकर्मी र १३२ जना स्वयम्सेवक प्रयोग गरेर खोप लगाउने कार्यलाई व्यवस्थित गरिएको स्वास्थ्य संयोजक टिकाराम अधिकारीले जानकारी दिनुभयो ।

१५ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई यसपटक विद्यालयमै पुगेर खोप लगाउने तयारी छ । त्यसका अलावा मनहरी गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरुमा चैत २५ गतेदेखि ३० गतेसम्म खोप लगाइँदैछ ।

स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार चैत २५ गते ३४९७ जना, चैत २६ गते १४३५ जना, चैत २७ गते २२७९ जना, चैत २८ गते २७९१ जना, चैत २९ गते २१४२ जना र चैत ३० गते १९८० जनालाई टाइफाइड बिरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ । यसपटक निजी विद्यालयहरुमा समेत खोप केन्द्र तोकिएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले खोप कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन सबै पक्षले साथ र सहयोग गर्नुपर्ने बताउनुभयो । यसअघि अध्यक्ष एकराज उप्रेतीको अध्यक्षमा खोप समन्वय समितिको बैठक बसी खोप अभियान सञ्चालन गर्ने निर्णय गरिएको र विद्यालयका शिक्षिकाहरुलाई खोपबारे अभिमुखीकरण गरिएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here