मनहरी–चैत २ गते । प्रहरीले मकवानपुरको कैलाश गाउँपालिका ७ तामलाङबाट मनहरीतर्फ आउने क्रममा रहेको मोटरसाइकलबाट ठूलो परिमाणको अफिम बरामद गरेको छ ।

प्रहरी देख्नासाथ अफिम र अन टेस्ट मोटरसाइकल छाडेर घटनामा संलग्न ब्यक्ति भागेको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार बरामद भएको अफिमको परिमाण ५ किलोग्राम रहेको छ । रक्सौल पुग्दा ५ किलोग्राम अफिमको ५० लाख रुपियाँ पर्ने बताइन्छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले ५ किलोग्राम अफिम, २२० सिसिको अन टेस्ट पल्सर मोटरसाइकल र नगद एकलाख रुपियाँ बरामद गरेको जनाएको छ ।

प्रहरीले घटना स्थलबाट अफिम, मोटरसाइकल र नगद मात्र फेला पारेको छैन, शंकास्पद अबस्थामा राखिएको बा.प्र. ०३–००३ प १४१० नं को १५० सिसिको अर्काे पल्सर मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको छ । अन टेस्ट मोटरसाइकल र नम्बरसहितको मोटरसाइकलको पहिचानका लागि प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार सुराकीको आधारमा अन टेस्ट मोटरसाइकलमा अफिम आउँदैछ भन्ने थाहा पाएपछि गरिएको कारबाहीका क्रममा ठूलो परिमाणको अफिम, नगद र मोटरसाइकल बरामद गरिएको हो । घटनास्थलमा शंकास्पद अबस्थामा देखिएको अर्काे मोटरसाइकल पनि नियन्त्रणमा लिई त्यसबारे अनुसन्धान जारी राखिएको छ । प्रहरीका अनुसार अफिम कारोबार र ओसारपसारमा संलग्न भएकाहरुको तीब्र खोजी र अनुसन्धान भइरहेको छ । केही दिनमै कारोबारमा संलग्न भएका व्यक्तिहरु पक्राउ गर्नेगरी प्रहरीले अनुसन्धानलाई साँघुरो बनाउँदै लगेको छ ।

यसैबीच उक्त घटनापछि नेता र जनप्रतिनिधिहरुको प्रहरी कार्यालयमा दौडधूप चलेको बताइएको छ । दिनभरजसो प्रहरी निरीक्षक थापा, मकवानपुर प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई चिनेका र नचिनेका नम्बरहरुबाट निरन्तर फोन गइरहेको बताइन्छ । तर प्रहरीले प्राप्त गरेको यति ठूलो सफलतामा कहीँकतै गडबड हुन नदिने र निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही हुनेमा विश्वस्त रहन प्रहरी निरीक्षक थापाले अनुरोध गर्नु भएको छ । केही दिनमै रिजल्ट आउने गरी अनुसन्धानको काम अघि बढेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here