हेटौँडा–फागुन २५ गते । अघिल्ला जिल्ला अधिबेसनहरुमा इन्द्रबहादुर बानियालाई काउन्टर दिएका नेपाली काँग्रेसका नेता प्रभात दाहाल यसपटक मौन मात्रै बस्नु भएन, खुलमखुल्ला बुद्ध लामालाई सभापति बनाउने अभियानमा जुट्नुभयो ।

नेतृत्व चयनका लागि हुने मतदानको अघिल्लो साँझ अर्थात फागुन १५ गते दाहालले एउटा स्टाटससहित बुद्ध लामाको निर्वाचन सामग्री फेसबुकमा पोष्ट गर्नुभयो । जहाँ लेखिएको थियो–‘कांग्रेस प्रारम्भदेखि आजसम्म आईपुग्दा कांग्रेस भित्र म भन्ने संस्कृती मौलाएको छ यो संस्कृतीलाई परिमार्जन गर्न हामी भन्ने संस्कृती भित्राउन अनिवार्य छ । सभापतिको उम्मेदवार बुद्ध लामालाई अत्याधिक मतले विजय गराऔं ।’

बानियाँको समर्थनमा अघि बढ्नु भएका लामालाई दाहालले समेत यसरी साथ दिएपछि गैरसंस्थापन पक्ष र संस्थापन पक्षभित्र पनि तरंग नफैलिएको होइन । हिँजोका प्रतिस्पर्धी बानिया र दाहाल कसरी मिले ? यसको असर कहाँ पर्छ ? भनेर नेपाली काँग्रेसको राजनीतिमा अनेकन अड्कलबाजीहरु भइरहे । तर, त्यसको असर अब देखा पर्न थालेको छ ।

उनै दाहालले अब मकवानपुरको सबैभन्दा ठूलो स्थानीय तह हेटौँडा उपमहानगरपालिकाको सरकार प्रमुख हुने गरी सक्रियता देखाउन थाल्नु भएको छ । उहाँको सक्रियतालाई बानियालाई अस्वाभाविक मानेका छैनन्, त्यसकारण पनि काँग्रेसभित्र अर्कै चीज पाक्दै गइरहेको अनुमान गर्न सकिन्छ । यसअघि मेयरका आकांक्षी भनिएकाहरुलाई यो पाक्दै गरेको ‘चीज’ ले अनिदो बनाउँदै लगेको छ ।

करिब १२ वर्षदेखि मकवानपुरमा संस्थापन इतरको राजनीति गरेर छायाँमा परेको दाहाल नेपाल विद्यार्थी संघका केन्द्रीय निवर्तमान महामन्त्री समेत हुनुहुन्छ । जिल्ला अधिवेशनमा बानियाँ र दाहाल एउटै मोर्चामा उभिएर लामालाई सभापति पदमा विजयी गराएपछि अबको हेटौंडाको मेयरमा पार्टीले उनलाई टिकट दिने विश्वास गरिएको स्रोत बताउँछ । दाहालले कांग्रेस मकवानपुर सल्लाहकार, जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष, निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसक्नु भएको छ ।

लामो समय मकवानपुर कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गरेका दाहाल हाल केन्द्रीय नेता प्रकाशमानसिंहको विश्वासिलो पात्र हुनुहुन्छ । कांग्रेस महाधिवेशनमा सभापति देउवा र सिंह एउटै कित्तामा उभिएपछि मकवानपुरमा दाहालको प्रभाव बढेको हो । महासमिति प्रतिनिधि छनौट गर्दा बानियाँले दाहालको माग अनुसार संख्या उपलब्ध गराएपछि झन् काँग्रेसभित्र हलचल मच्चिएको बताइन्छ । स्थानीय चुनाव र पार्टी संचालनका सम्बन्धमा बानिया र दाहालको नियमितजस्तै छलफल र भेटघाट हुने गरेको स्रोत बताउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here