राक्सिराङ–फागुन ९ गते । मकवानपुरको दुर्गम राक्सिराङ क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा सुरु भएको छ ।

राक्सिराङ गाउँपालिकाको वडा नं ४ को देविटार र राक्सिराङ क्षेत्रमा सोमबार बिजुली बालिएको हो । वडाध्यक्ष सञ्जय कोइरालासहित नेपाल विद्युत प्राधिकरणका प्रतिनिधि, समुदायका अगुवा स्थानीय बासिन्दा लगायतको उपस्थितिमा गाउँमा बिजुली बालिएको हो ।

साबिक राक्सिराङ गाउँ विकास समिति अन्तर्गतको २, ३, ४ र ६ नं वडामा पर्ने बस्तीहरुमा बिजुली बाल्ने कार्य शुभारम्भ गरिएको वडाध्यक्ष कोइरालाले बताउनुभयो । ‘२५० घर परिवारले अब राष्ट्रिय प्रसारण लाइनको विद्युत उपभोग गर्न पाउने भएका छन्’, वडाध्यक्ष कोइरालाले बताउनुभयो । उहाँले लामो समयदेखि स्थानीयबासिन्दाको योगदान र सक्रियताका कारण बिजुली बाल्न सफल भएको बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण र राक्सिराङ गाउँपालिकाको आर्थिक बर्ष २०७५/०७६ को बजेट कार्यान्वयन गरी विद्युतीकरण गर्न सफल भएपछि गाउँलेहरुमा खुसीयाली छाएको उहाँले बताउनुभयो । सोही योजना बमोजिम अबको १ महिनाभित्रमा ४ नं वडाका सबै गाउँबस्तीहरु झिलिमिली पार्ने गरी काम अघि बढेको पनि उहाँले जानकारी दिनुभयो ।

आफूले निर्बाचनका बेला गरेको बाचा पूरा गरेको भन्दै उहाँले सडक, बिजुली लगायत पूर्वाधार विकासलाई प्राथमिकता राखेर काम गरिएको बताउनुभयो । अहिले ४ नं वडाको ६० प्रतिशत भुभागमा बिजुली बलेको र बाँकी ४० प्रतिशत भागमा १ महिनाभित्र बिजुली बाल्ने गरी काम द्रुत गतिमा भइरहेको उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here