राक्सिरा–माघ ८ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकामा रहेका अति सिमान्तकृत चेपाङ समुदायमा खोप लगाउने दर कम पाइएपछि समुदायमै खोप अभियान संचालान गर्न बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा गाउँमै पुग्नुभएको छ ।

स्वास्थ्यमन्त्री लामासंगै बागमती प्रदेशका भौतिका पूर्वाधार राज्यमन्त्री सन्त बहादुर चेपाङ पनि खोप अभियानलाई हौसला प्रदान गर्न शनिबार राक्सिराङ पुग्नुभएको छ ।

स्वास्थ्य मन्त्री लामा कोरोनाविरुद्धको खोप अभियान लिएर शनिबार राक्सिराङ–५ ताङराङ पुग्नुभएको हो । मन्त्री लामाले खोप लगाउन स्वास्थ्य संस्थामा पुग्न नसक्नेहरूलाई समुदायमै पुगेर खोप लगाउन स्वास्थ्यकर्मीलाई निर्देशन समेत दिनुभएको छ ।

१३ जिल्लाका अतिसिमान्तकृत, पिछडिएको समुदाय र खोप लगाउने दर कम भएको क्षेत्रमा समुदायस्तरमा खोप अभियान संचालन गरिएको मन्त्री लामाले बताउनुभएको छ ।

त्यसैगरी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले खोपले कोरोनाको जोखिम न्यूनीकरणमा सहयोग गर्ने भएकाले निर्धक्क भएर खोप लगाउन समग्र जनसमुदायलाई आग्रह गर्नुभएको छ ।

ख्रिष्टियन समुदायमा खोप लगाउन पर्दैन प्राथर्ना गर्दा निको हुन्छ भन्ने गलत सन्देश फैलिएको भन्ने खबर प्राप्त भएपछि चर्च तथा गाउँघरमा नै पुगेर खोप लगाउने अभियान सुरु गरेको मन्त्री चेपाङले बताउनुभयो ।

खोप अभियान अन्तर्गत मन्त्री चेपाङको पहलमा अति विपन्न २०० घर धुरीलाई न्यानो कपडा ब्लाङ्केट बाड्ने कार्यक्रम पनि केहि दिन भित्र सञ्चालन गरिने बताउनुभयो ।

खोप लगाउने दर कम रहेको राक्सिराङ र कैलाश गाउँपालिकामा चेपाङ, तामाङ एवं धार्मिक अगुवा, टोल विकास संस्था लगायतको समन्वयमा खोप अभियान समुदायमा खोप लगाउने दर बढाउन प्रदेश सरकारको निर्देशन अनुसार अभियान संचालन गरिएको हो ।

अभियानमा राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष निर्मला हिम्डुङ, चेपाङ अगुवा एबम् धार्मिक अगुवाहरूको सहभागी रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here