मनहरी– माघ ०७ गते । मनहरी गाउँपालिकाको बालमैत्री शाखा र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा लगाइएको ताला आइतबार खुल्ने भएको छ ।

शुक्रबार मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला विष्ट, मनहरीका प्रमुख राजनितिक दलका प्रतिनिधि, बाल सञ्जालका पदाधिकारी, बाल सहजकर्ताहरुको संयुक्त बैठकबाट गाउँपालिकामा लगाइएको ताला खुलाउने निर्णय भएको हो ।

मनहरी गाउँपालिकाको पुष २७ गते भएको कार्यपालिकाको बैठकले ९ वटै वडामा रहेका बाल सहजकर्ताहरु हटाउने निर्णय गरेको विरोधमा बाल सञ्जाल मनहरीले पुनर्वाहालीको लागि विरोधको कार्यक्रमहरु गर्दै आएको थियो ।

विरोधको कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिकाको बालमैत्री शाखा र प्रमुख प्रशासकिय अकिृतको कार्यकक्षमा नै ताला लगाएको थियो । शुक्रबार भएको बैठकमा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले माघ १५ गते भित्र कार्यपालिकाको बैठक राखि बाल सञ्जालले राखेको मागको विषयमा जानकारी गराउने प्रतिवद्धता गर्नुभयो ।

त्यस्तै नेपाली काङग्रेसका पार्टी प्रतिनिधि हरिचन्द्र शाहि ठकुरी, माओवादी केन्द्रका पार्टी प्रतिनिधि दिल बहादुर स्याङ्बो, नेकपा एकिकृत समाजवादी मनहरी गाउँकमिटीका अध्यक्ष नारायण श्रेष्ठ, नेकपा एमाले मनहरी गाउँकमिटीका अध्यक्ष नविन सुवेदीले आफ्ना दलका जनप्रतिनिधिलाई बाल सहजकर्ता हटाउन गरेको निर्णयमा हस्ताक्षर गरेको भए हस्ताक्षर फिर्ता गरी बाल सहजकर्ता पुनर्वाहालीको लागि कुरा राख्न लगाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यता बाल सञ्जाल मनहरीले भने माघ १५ गते भित्र कार्यपालिका बैठक बसी बाल सहजकर्ता पुनर्वाहाली गर्ने निर्णय नल्याए पुनः विरोधको कार्यक्रमहरुलाई निरन्तरता दिने निर्णय गरेको छ ।

उक्त बैठकमा बोल्दै बाल सञ्जालका प्रतिनिधि अस्मिता कार्कीले तालाबन्दी गर्नु बाल सञ्जालको उद्देश्य नरहेको र ताबन्दीका कारण जनाताले खेप्नु परेको सास्तीप्रति दुख लागेको धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै बैठकको समापन समारोहमा बोल्दै बाल सञ्जालका अध्यक्ष आषिश बुढाथोकीले माघ १५ गते भित्र बाल सहजकर्ता पुनर्वाहाली हुने निर्णय आउनेमा ढुक्क रहेको भन्दै विरोधको कार्यक्रलाई ऐक्यबद्धता जनाउने राजनितिक दलका अगुवाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here