मनहरी–माघ ३ गते । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम चलिरहेको स्थानीय तहहरुमा आर्थिक, प्रशासनिक र प्रक्रियागत अनेक त्रुटीहरु देखिएका छन् । मनहरी गाउँपालिकाको कार्यपालिका बैठकका निर्णय पुस्तिकाहरु अध्ययन गर्दा स्थानीय तहका कर्मचारीहरुको क्षमतामा प्रश्न उठाउने प्रशस्तै ठाउँहरु देखिएको छ ।

कुरा पुस २७ गते भएको मनहरी गाउँपालिका कार्यपालिका बैठकको हो । थुप्रै विवादास्पद निर्णयहरु भएको उक्त दिनको बैठकको निर्णय नं १३ भनेर १४ नं प्रस्तावबारे निर्णय गरिएको छ । र, उक्त बुँदामा अत्यन्तै गम्भीर प्रशासनिक कमजोरी गरिएको छ । जहाँ लेखिएको छ–प्रस्ताव नं १४ माथि छलफल गर्दा निम्नानुसार व्यक्तिहरुबाट आर्थिक सहायता तथा बजेट माग भई आएको हुँदा तपसील बमोजिम हुने गरी सहायता उपलब्ध गराउने निर्णय गरियो ।’ तपसीलमा उल्लेख गरिएको तालिकाको पहिलो नम्बरमै नामै नभएका व्यक्तिलाई आर्थिक सहायता प्रदान गर्ने कुरा उल्लेख छ । खुट्टाको जोर्नीमा हड्डी पलाएको हुँदा अपरेसन गर्नुपर्ने व्यहोरा उल्लेख गरिएको उक्त निर्णयमा बिरामीको नाम लेखिएको छैन । लाभग्राहीको नामथरमा ‘राजकुमार लगुनको छोरी’ लेखिएको छ ।

१० हजार रुपियाँ आर्थिक सहायता पाउने व्यक्तिको नाम नै नभएपछि आर्थिक र प्रशासनिक रुपमा उक्त निर्णय कसरी कार्यान्वयन हुन सक्ला ? भनेर प्रश्न उठेको छ । लाभग्राहीले पाउने आर्थिक सहायतका लागि निम्ति चेक काट्नुपर्ने र चेकमा लेख्नुपर्ने नाममा व्यक्तिको नाम अनिबार्य राखिनुपर्ने हुन्छ । तर निर्णयानुसार कार्यान्वयन गर्दा ‘राजकुमार लगुनको छोरी’ भनेर चेक काट्नुपर्ने देखिन्छ । सरकारी निर्णय र चेक अमूर्त व्यक्तिका नाममा काट्न नमिल्ने जानकारहरु बताउँछन् ।

त्यसो त स्वास्थ्य शाखाबाट सिफारिस भएको नाममा आर्थिक सहायताको निर्णय भएको होइन । सीधै कार्यपालिकाले निर्णय गरेर सहायता दिँदा त्यस्तो प्रशासनिक कमजोरी देखिएको हो । बैठकका माइन्युट लेख्ने व्यक्तिले नै अमूर्त माइन्युट लेखेको र सोही माइन्युटमा अध्ययन नै नगरी अध्यक्ष एकराज उप्रेतीले प्रमाणित गरेको पाइएको छ । ‘हामीले पेस गर्दा नाम, ठेगाना, बुवाको नाम, समस्या लगायत सबै विवरण भरेर मात्रै पेस गर्छाैं’,–स्वास्थ्य शाखा प्रमुख टिकाराम अधिकारीले भन्नुभयो–‘नामै उल्लेख नगरी हामीले पेस गर्दैनौं ।’

त्यसो त माइन्युटमा अनेकन कमजोरीहरु छन् । सोही सूचिको ३ नं क्रमसंख्यामा संगीता रुम्बा हुनुपर्नेमा ‘संगीता रुम्बाला’ लेखिएको छ । जबकी रुम्बाला भन्ने थर नै हुँदैन । त्यस्तै गायक रविनकुमार चेपाङलाई दुर्घटनामा परी आर्थिक सहायता २० हजार दिनेबारे पनि निर्णय छ । तर, निर्णय पुस्तिकामा उहाँको नाम रविन्द्र चेपाङ लेखिएको छ ।

यस्ता प्रशासनिक कमजोरीहरु बिगतदेखि नै हुँदै आएको पाइएको छ । तर, सुधार गर्नेतिर भन्दा पनि कर्मचारीहरुले ‘जे गर्दा पनि हुन्छ’ भन्ने मानसिकताले मनहरी गाउँपालिकामा काम गरिरहेका छन् । जनप्रतिनिधिहरु नै कर्मचारीसामु निरीह बनेको पाइन्छ । माइन्युट नै गलत लेखिएकोबारे जानकारी लिनका लागि प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठलाई कार्यालयले उपलब्ध गराएको फोन ९८५५०८८३६६ मा सोमबार बिहान ९ः १६ बजे फोन गर्दा उहाँले फोन उठाउनु भएन ।

पुस २७ गतेको त्यही बैठक हो, जहाँ ४ जना गर्भवती र सुत्केरी समेत रहेका बालमैत्री सहजकर्ताहरुलाई बिना प्रक्रिया र बिना जानकारी बर्खास्त गर्ने निर्णय गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here