राक्सिराङ–पुस ७ गते । राक्सिराङ गाउँपालिका ४ गिङ्गुमा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानी सञ्चालनबारे सरोकारवालाले ध्यान दिएका छन् ।

चैनपुरस्थित गाउँपालिकाको कार्यालयमा भएको सर्वदलीय/सर्ब पक्षीय छलफलमा खानी सञ्चालन गर्न कसैले अवरोध गर्न नहुने तर खानी सञ्चालनको नाउँमा स्थानीयका माग र सम्झौताहरुलाई मिच्न नहुने आवाज उठेको हो ।

नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायत राजनीतिक दलका गाउँपालिका तहका प्रतिनिधिहरु तथा जनप्रतिनिधि एबम् उद्योगका प्रतिनिधिहरुबीच लामो समय छलफल चलेको हो ।

छलफलले गाउँपालिका अध्यक्ष राजकुमार मल्लको नेतृत्वमा सबै राजनीतिक पार्टीका प्रतिनिधिहरु र प्रभावित वडाका वडाध्यक्षहरु सम्मिलित समिति निर्माण गरी खानी सञ्चालनका लागि स्थानीयबासिन्दाको मागहरुका सम्बन्धमा सहजीकरण गर्ने निर्णय गरेको छ ।

समितिले स्थलगत अवलोकन र अन्य विवादका कुराहरुबारे अनुसन्धान गरी प्रतिवेदन पेस नगरेसम्म ढुंगा उत्खनन् कार्य हुन नदिने र हालका लागि बाटो निर्माण कार्यलाई अघि बढाउने निर्णय भएको छ । समितिका सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैला र सल्लाहकारहरुमा माननीय ओमबहादुर ग्लान, सन्तबहादुर चेपाङ र गोविन्दराम चेपाङ रहनु भएको छ ।

‘समितिले अब स्थानीयका मुद्दाहरु संकलन गरी आवश्यक सहजीकरण गर्नेछ’, समितिका संयोजक समेत रहनु भएका गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भन्नुभयो–‘सबैखाले समस्याहरु र तिनको समाधानका बारेमा हामी सामूहिक निर्णय गर्छौ र आवश्यकता अनुसार सिमेन्ट उद्योगलाई निर्देशन दिएर समस्या हल गर्छाै ।’

छलफलमा मनहरीबाट पहाडी गाउँहरुमा पुग्ने सडकहरुमा अत्यधिक धूलो उडेकाले नियमित रुपमा पानी हाल्नुपर्ने व्यवस्था हुनुपर्ने कुरा उठान भएको थियो । त्यसैगरी स्थानीय युवाहरुले आफ्ना तर्फबाट ढुवानीका साधनहरुको व्यवस्था हुने भन्दै क्षमता अनुसारको रोजगारी र व्यवसायको अबसर दिनुपर्ने माग गरेका थिए ।

स्थानीय सरोकार समितिको तर्फबाट भने खानी क्षेत्रको पहिचान भएका क्षेत्रहरुका प्रभावित बासिन्दाहरुको उचित व्यवस्थापन नभएको, ढुंगा गुल्टेर घरमा आउने अबस्था रहेको जस्ता समस्याहरु प्रस्तुत भएको थियो । ढुंगा उत्खनन् गर्दा तल्लो भेगका पानीका मुहान सुकेको र धमिलिएको पनि छलफलमा कुरा उठेको थियो ।

उद्योगका सम्बन्धमा उठेका कुराहरुको जबाफ दिँदै उद्योगका तर्फबाट खानीका महाप्रबन्धक गणेश कुमार सिंहले स्थानीयसँग भएको सम्झौताको कार्यान्वयन बिस्तारै हुँदै गइरहेको बताउनुभयो । उहाँले पीडित र प्रभावितहरुको जग्गा बिक्री गरी केही ब्यक्तिहरुले बिचल्ली पारेको सन्दर्भमा उठेको सबालमा उनीहरुको न्यायका निम्ति जिल्ला प्रशासन कार्यालयमा जानका लागि आफूले सहजीकरण गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा वडाध्यक्ष सञ्जय कोइरालाले आफूले केही दिनअघि जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी मानवीय क्षति नहोस् भन्ने हेतुले सबैलाई जानकारी गराएपनि खानी क्षेत्रमा पुग्ने बाटो जबरजस्त बनाएर झन् द्वन्द्व बढाउने काम भएको भन्दै असन्तुष्टि ब्यक्त गर्नुभयो ।

उहाँले वार्ता र छलफलका लागि आफूले जिल्ला प्रशासन कार्यालयसहित सबैलाई ध्यानाकर्षण गराएको भन्दै खानी बन्द गर्ने लक्ष्य कसैको नरहेको बताउनुभयो । वडा नं ५ का वडाध्यक्ष चन्द्रसिंह चेपाङले बाटोको अबस्था राम्रो नभएको र धूलो उठेर पैदल यात्री तथा साना सबारी साधनलाई अफ्ठ्यारो पर्ने गरेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणप्रसाद न्यौपानेले कानूनी प्रक्रिया पूरा गरेर आएको उद्योगले जनतासँग गरेका बाचा पूरा नगरेको भन्दै असन्तुष्टि ब्यक्त गर्नुभयो । र, तत्कालै स्थानीयका माग सम्बोधनका लागि ध्यान दिन उद्योगका प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

संविधानसभा सदस्य गोविन्दराम चेपाङले खानी सञ्चालनको बिषयमा सरोकारवालाहरु जानकार हुनुपर्ने र निरन्तर छलफल र वार्ताबाटै समस्या समाधान निस्कनुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेसका बीरेन्द्र जिम्बा, नेकपा एमालेका सिंहराम रुम्बा (रोहन), नेकपा माओवादी केन्द्रका इन्द्र थिङ, नेकपा एकीकृत समाजवादीका ज्ञानेन्द्र तामाङ, राप्रपाका सर्ब श्री मुक्तान, सञ्चारकर्मी शिवकुमार काशी, सरोकार समितिका अध्यक्ष गोपाल मुक्तान, युवा व्यवसायीको तर्फबाट क्षेत्रबहादुर मुक्तान लगायतले व्यवसायिकताको कुरा मात्रै भन्दा पनि खानी सञ्चालनको बिषय आम सरोकारवालाको बिषय भएकाले बिगतमा गरिएका गुपचुपका सहमति र सम्झौताका कारण समस्या आइरहेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा कार्यक्रम भएको हो भने प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैलाले सहजीकरण गर्नु भएको थियो । बैठकमा बानियाँ निर्माण सेवाका नवराज खतिवडा, मोतिदान कन्ट्रन्क्सनका रामबहादुर गौतमको पनि उस्थिति थियो भने मनहरी र राक्सिराङ गाउँपालिका क्षेत्रका युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here